डिजिटल कारोबारमा तीन तहको सुरक्षा अपनाउन राष्ट्र बैंकको आग्रह

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन १९
|
969 views

ललितपुर - ललितपुर – नेपाल राष्ट्र बैंक ले डिजिटल माध्यमबाट हुने वित्तीय कारोबारमा बढ्दो जोखिमलाई ध्यानमा राख्दै तीन तहको सुरक्षा व्यवस्था अनिवार्य रूपमा अपनाउन आग्रह गरेको छ ।

राष्ट्र बैंकले जारी गरेको सचेतना सन्देशमा डिजिटल प्रविधिको प्रयोगसँगै साइबर दुरुपयोगको जोखिम बढ्दै गएको उल्लेख गर्दै सुरक्षित कारोबारका लागि बहु–तह प्रमाणीकरण आवश्यक रहेको जनाएको छ ।

सुरक्षाका तीन तह

पहिलो तह (ज्ञानमा आधारित सुरक्षा):
यो तहले प्रयोगकर्तालाई मात्र थाहा हुने जानकारीलाई जनाउँछ, जस्तै– पासवर्ड, पिन नम्बर वा गोप्य प्रश्नको उत्तर । यस तहको सुरक्षा प्रयोगकर्ताको ज्ञान र सम्झनामा आधारित हुन्छ। यस्ता विवरण पूर्ण रूपमा गोप्य राख्न राष्ट्र बैंकले सुझाव दिएको छ ।

दोस्रो तह (स्वामित्वमा आधारित सुरक्षा)
यस अन्तर्गत मोबाइल फोन, बैंक कार्ड, ओटीपी प्राप्त हुने उपकरण वा सुरक्षा टोकन जस्ता साधन पर्छन्, जसको पहुँच सम्बन्धित व्यक्तिसँग मात्र हुन्छ। यस्ता उपकरणहरूले प्रयोगकर्ताको पहिचान प्रमाणीकरण गर्न सहयोग पुर्‍याउँछन् ।

तेस्रो तह (बायोमेट्रिक सुरक्षा)
यसमा औँठाछाप, अनुहार चिन्ने प्रणाली, आँखाको स्क्यान जस्ता बायोमेट्रिक विवरण समावेश हुन्छन्। यी विवरण व्यक्तिगत र संवेदनशील हुने भएकाले अत्यन्त सावधानीपूर्वक प्रयोग गर्न राष्ट्र बैंकले आग्रह गरेको छ ।

राष्ट्र बैंकले डिजिटल वित्तीय कारोबार गर्दा उल्लेखित प्रमाणीकरण विधिहरू प्रयोग गर्न र आफ्ना व्यक्तिगत विवरण कसैसँग पनि साझा नगर्न आग्रह गरेको छ ।

 पात्रो/राशिफल  रेडियो YouTube