मध्यपूर्वमा शान्तिका लागि रुसले इरानलाई सहयोग गर्ने

BusinessPati बिजनेस पाटी
|
२०८३ बैशाख १४
|
561 views

ललितपुर - अमेरिका–इजरायलसँगको तनावबीच इरानलाई रुसको कुटनीतिक समर्थन जारी रहने रूसले जनाएको छ।

सोमबार सेन्ट पिटर्सबर्गमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र इरानका विदेश मन्त्री अब्बास अराघचीबीच भएको भेटवार्तामा पुटिनले पश्चिम एसिया क्षेत्रमा शान्ति स्थापना गर्न हरसम्भव कदम चाल्ने आश्वासन इरानलाई दिनुभएको क्रिमलिनका अधिकारीले जनाएका छन् ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले इरानका विदेशमन्त्री अब्बास अराघचीसँग सेन्ट पिटर्सबर्गमा भेटवार्ता गरेको रुसी सरकारी न्यूज एजेन्सी तासले पुष्टि गरेको हो ।

भेटवार्तामा राष्ट्रपति पुटिनले इरानी जनताको प्रशंसा गर्दै आफ्नो सार्वभौमिकताका लागि बहादुरीका साथ लडिरहेको बताउनुभएको थियो ।

नेता पुटिनले मध्यपूर्वमा शान्ति ल्याउनका लागि रुसले इरान र यस क्षेत्रका अन्य देशको हितमा सक्दो प्रयास गर्ने पनि बताउनुभएको समाचार संस्था तासले जनाएको छ ।

इरानी विदेशमन्त्री अराघचीको रूसी नेता पुटिनसँगको भेटका क्रममा अराघचीले अवस्था जस्तोसुकै भए पनि इरान र रुसबीचको सम्बन्ध अझ प्रगाढ हुने बताउनुभएको थियो । उनले दुई देशबीचको सम्बन्ध रणनीतिक साझेदारीको उच्चतम तह भएको बताउनुभयो ।

उहाँले वर्तमान युद्ध, क्षेत्रीय तनाव वा अन्तर्राष्ट्रिय दबाबले रुस र इरानबीचको निकटतालाई कम नगर्ने सङ्केत गगर्नुभयो ।

रुस र इरानले ऊर्जा, रक्षा र क्षेत्रीय मामिलामा सहकार्य बढाइरहेका छन् । दुई देशले गत वर्ष दीर्घकालीन रणनीतिक साझेदारी सम्झौतामा पनि हस्ताक्षर गरेका थिए । रूसी नेता पुटिनसँगको वार्तामा इरानले आफ्नो सेनालाई स्ट्रेट अफ हर्मुजका लागि जिम्मेवार बनाउनुपर्ने बताएको छ ।

इरानको संसदको राष्ट्रिय सुरक्षा आयोगका प्रमुख इब्राहिम अजिजीले सरकारी टेलिभिजनसँग भन्नुभयो, ‘सशस्त्र बलले पहिले नै जलडमरूमध्य नियन्त्रणमा लिइसकेको छ र ‘शत्रु पक्षका जहाज’ लाई पार गर्न रोक्ने प्रयास गरिरहेको छ ।’ प्रस्तावित कानूनले यो जलमार्गबाट प्राप्त हुने आम्दानी स्थानीय मुद्रा (रियल) मा भुक्तानी गर्नुपर्ने व्यवस्था गरेको अजिजीले बताउनुभयो ।

 पात्रो/राशिफल  रेडियो YouTube