ललितपुर – रूसका एक वरिष्ठ सैन्य अधिकारीमाथि शुक्रबार बिहान राजधानी मस्कोस्थित एक अपार्टमेन्ट भवनमा गोली प्रहार भएको छ । घटनामा घाइते भएका जनरललाई तत्काल अस्पताल भर्ना गरिएको अधिकारीहरूले जनाएका छन् । पछिल्लो समय उच्च पदस्थ सैन्य व्यक्तिमाथि भएका आक्रमणहरूको शृंखलामा यस घटनालाई स्पष्ट हत्या प्रयासका रूपमा हेरिएको छ ।
रूसको अनुसन्धान समितिका अनुसार रूसी जनरल स्टाफमा वरिष्ठ भूमिका निर्वाह गरिरहेका जनरल भ्लादिमिर अलेक्सेभमाथि अज्ञात व्यक्तिले घटनास्थलबाट भाग्नुअघि पटक–पटक गोली चलाएको थियो । समितिले जारी गरेको विज्ञप्तिमा पीडितको उपचार अस्पतालमा भइरहेको उल्लेख गरिएको छ ।
घटनामा संलग्न सन्दिग्ध व्यक्ति वा व्यक्तिहरूको पहिचानबारे भने कुनै विवरण सार्वजनिक गरिएको छैन । अनुसन्धान समितिकी प्रवक्ता स्वेतलाना पेट्रेन्कोले दोषीको पहिचान र पक्राउका लागि सबै अनुसन्धान तथा खोजी कार्य तीव्र पारिएको बताउनुभएको छ ।
सन् २०२२ को फेब्रुअरीमा रूसले युक्रेनमाथि पूर्ण आक्रमण सुरु गरेयता उच्च पदस्थ रूसी सैन्य अधिकारीहरू लक्षित आक्रमणको निशानामा पर्दै आएका छन् । तीमध्ये केही घटनाको जिम्मेवारी युक्रेनले लिएको विवरण सार्वजनिक हुँदै आएको छ ।
अनलाइन जीवनीअनुसार अलेक्सेभ क्यारियर सैन्य अधिकारी हुनुहुन्छ र हाल रूसी जनरल स्टाफको पहिलो उप–प्रमुखका रूपमा कार्यरत हुनुहुन्छ । उहाँले सिरियामा रूसको सैन्य हस्तक्षेपका क्रममा गुप्तचर कारबाहीको नेतृत्व गर्नुभएको थियो । साथै, सन् २०२३ मा वागनर समूहका प्रमुख येवगेनी प्रिगोझिनसँग वार्ता गर्न उहाँलाई सरकारी प्रतिनिधिका रूपमा पठाइएको थियो ।
यसैबीच, गत महिना एक रूसी अदालतले सन् २०२४ मा रेडियोलोजिकल, केमिकल तथा बायोलोजिकल डिफेन्स फोर्सका प्रमुख जनरल इगोर किरिलोभको हत्या अभियोगमा उज्बेकिस्तानका एक नागरिकलाई आजीवन कारावासको सजाय सुनाएको थियो । किरिलोभ मस्कोस्थित अपार्टमेन्ट भवनबाट बाहिरिने क्रममा विस्फोटक जडान गरिएको स्कुटर पड्किँदा मारिनुभएको थियो । उक्त आक्रमण आफूहरूले योजनाबद्ध रूपमा गराएको दाबी युक्रेनले गरेको थियो ।


















फेसबुकबाट तपाईको प्रतिक्रिया