२०८२ फाल्गुन ३ | Feb 15, 2026

पोखरामा १९ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबल : नेपाल–बङ्गलादेश भिडन्त आज

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ २१
|
357 views

ललितपुर – पोखरामा जारी १९ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा आज घरेलु टोली नेपाल दिउँसो ३ः०० बजे बङ्गलादेशसँग भिड्नेछ। त्यसअघि अपरान्ह १२ः०० बजे भारत र भुटान आमनेसामने हुनेछन् ।

पोखरा रंगशालास्थित अन्तर्राष्ट्रिय फुटबल रंगशालामा हुने लिग चरणको अन्तिम खेलमा नेपालमाथि दबाब रहनेछ। फाइनल प्रवेशको सम्भावना कायम राख्नका लागि नेपाललाई जितै आवश्यक छ ।

हाल अङ्क तालिकामा बङ्गलादेश ६ अङ्कसहित शीर्ष स्थानमा रहेको छ । यसले आफ्नो दुई खेल जितिसकेको छ र फाइनलतर्फ द्रुत प्रस्थान गरिरहेको छ। नेपाल र भारतले समान रूपमा एक–एक खेल जितेका छन् र तीन अङ्क बनाएका छन् । भुटान अहिलेसम्म अङ्कविहीन छ ।

लिग चरणको अन्तिम खेलमा भुटान भारतसँग प्रतिस्पर्धा गर्नेछ। यदि भारत भुटानलाई हराउँछ भने उसको फाइनल प्रवेशको सम्भावना बलियो हुनेछ । भारत भुटानसँग पराजित भएमा, नेपालले बङ्गलादेशसँग बराबरी मात्र गरे पनि फाइनल पुग्न सक्ने अवस्था बनाउनेछ ।

नेपाल पहिलो खेलमा भारतसँग १–० ले पराजित भए पनि दोस्रो खेलमा भुटानलाई २–१ ले हराएको थियो । बङ्गलादेशले पहिलो खेलमा भुटानलाई १२–० र भारतलाई २–० ले हराएको छ ।

प्रतियोगिताको शीर्ष दुई टोलीबीच हुने फाइनल खेल यही माघ २४ गते आयोजना हुनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया