मौवाखोलादेखि गोलाघाटसम्म शव खोजी गर्न सुरक्षा निकाय परिचालन

BusinessPati बिजनेस पाटी
|
२०८३ भाद्र ११
|
459 views

ललितपुर - रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले बगाएर ल्याएका ६४ शव चितवनका त्रिशूली र नारायणी नदी किनारका विभिन्न स्थानमा फेला परेका छन् ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि चितवनमा सम्भावित जोखिमको आँकलन गर्दै जिल्ला सुरक्षा समितिमार्फत पूर्वतयारी र सतर्कताका काम तीव्र पारिएको थियो । माथिल्लो तटीय क्षेत्रबाट नदीले बगाएर ल्याएका शव चितवनका त्रिशूली र नारायणी नदी किनारका विभिन्न स्थानमा फेला पर्नेक्रम जारी रहेको उहाँले जानकारी दिनुभयो । उद्धार तथा खोज कार्य जारी रहेकाले फेला पर्ने शवको सङ्ख्या अझै बढ्नसक्ने अनुमान गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी अर्यालले फेला परेका शवको पहिचान, कानुनी प्रक्रिया र ससम्मान व्यवस्थापनका लागि जिल्ला सुरक्षा समितिको बैठक बसेर सरकारी तथा निजी स्वास्थ्य संस्थासहित सम्बन्धित सबै निकायसँग समन्वय गरी एकीकृत रूपमा काम भइरहेको जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार फेला परेका प्रत्येक शवको फोटोग्राफी, जिपिएस लोकेसन रेकर्ड, मुचुल्का तथा नम्बरिङ गरी शव ब्यागमा ट्याग लगाउने काम भइरहेको छ । त्यसपछि शवलाई जिल्ला अस्पतालको शवगृहमा स्थानान्तरण गरी पहिचानको प्रयास अघि बढाइएको उहाँले बताउनुभयो ।

       पात्रो/राशिफल  रेडियो YouTube