
ललितपुर - रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीले बगाएर तनहुँको त्रिशुली नदी किनारमा भेटिएका नौ शवलाई पोखरा ल्याइएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएका शवको व्यवस्थापन तथा परीक्षणको काम सुरू भएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो ।
उहाँका अनुसार पाँच पुरूष, एक महिला, एक बालक, एक बालिका र एउटा पहिचान खुल्न नसकेको शवलाई पोखरा ल्याइएको हो । चितवनमा भेटिएका शव पनि त्यहाँ व्यवस्थापन गर्न नसकिएपछि पोखरा ल्याउन लागिएको जानकारी प्राप्त भएको छ, उहाँले भन्नुभयो, हामी अहिले शव व्यवस्थापनको काममा खटिरहेका छौँ ।
बुधबार बेलुका तनहुँको आँबुखैरेनी–४ देखि देवघाटसम्मको त्रिशूली नदी क्षेत्रका फेला परेका ती शवलाई परीक्षणका लागि भरतपुर पठाइएकामा त्यहाँका अस्पतालमा शव राख्ने ठाउँ नभएपछि पोखरा ल्याइएको हो । आँबुखैरेनीदेखि देवघाटसम्मको नदी क्षेत्रलाई प्राथमिकतामा राखेर खोजी तथा निगरानी बढाइएको तनहुँ प्रहरीले जनाएको छ ।

बिजनेस पाटी