सहकारी ऋण फिर्ता नगरे कारबाही हुने प्रशासनको चेतावनी

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन १३
|
918 views

ललितपुर - ललितपुर – सहकारीबाट ऋण लिएर नतिर्ने ऋणीलाई जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले तत्काल ऋण तिर्न अनुरोध गरेको छ । दुई सङ्कटग्रस्त सहकारीबाट ऋण लिई नतिर्ने तथा सम्पर्कमा नआउने ऋणीलाई कारबाहीको दायरामा ल्याइने चेतावनी दिइएको हो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक ले बनेपा नगरपालिकामा सञ्चालित दुई सहकारीका ऋणीलाई सार्वजनिक सूचनामार्फत तत्काल ऋण चुक्ता गर्न आग्रह गरेको छ ।

कार्यालयका अनुसन्धान अधिकृत एवं प्रहरी निरीक्षक वेदनारायण श्रेष्ठका अनुसार बनेपा–७ स्थित मुकुल बचत तथा ऋण सहकारी संस्था र बनेपा–१० को पशुपति बचत तथा ऋण सहकारी संस्थाबाट ऋण लिएका १४२/१४२ जना ऋणीले ऋण चुक्ता नगरेको पाइएको छ । उनीहरूलाई तत्काल रकम तिर्ने योजनासहित अनिवार्य रूपमा कार्यालयमा उपस्थित हुन पाँच दिनको समयसीमा दिइएको छ ।

अनुसन्धान अधिकृत श्रेष्ठका अनुसार सहकारीका सञ्चालक समितिका पदाधिकारीविरुद्ध बचतकर्ताको रकम हिनामिना तथा ठगी मुद्दा दर्ता गरिएको छ । बचतकर्ताको रकम फिर्ता गराउन कानुनी प्रक्रिया अघि बढाइएको जनाइएको छ ।

तोकेको समयभित्र सम्पर्कमा नआएमा खोजी गरी कानुन बमोजिम कारबाही गरिने चेतावनी दिइएको छ । सहकारीको बचत रकम अपचलन सम्बन्धी उजुरीका आधारमा छानबिन जारी रहेको प्रहरीले जनाएको छ ।

जिल्लामा सञ्चालित करिब एक दर्जन सहकारीविरुद्ध उजुरी परेकोमध्ये २६ जना पक्राउ परिसकेका छन् भने ६७ जना सञ्चालक फरार सूचीमा रहेका छन् ।

 पात्रो/राशिफल  रेडियो YouTube