ललितपुर - सहकारीमा फसेको आफ्नै बचत रकम फिर्ताको माग गर्दै सहकारी पीडितहरूले राजधानीको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।
सहकारी पीडितहरूको अगुवाइमा आयोजित विरोध कार्यक्रममा उनीहरूले सरकारको ध्यानाकर्षण गराउँदै पुनः सडक आन्दोलन सुरु गरेका हुन् । उनीहरू विगत ४५ महिनादेखि निरन्तर आन्दोलनरत रहँदै आएको बताउँदै सरकारसँग पटक–पटक भएका सम्झौताहरू कार्यान्वयन नभएको गुनासो गरेका छन् ।
प्रदर्शनकारीहरूले वाचापत्रमा उल्लेख गरिएको सय दिने प्रक्रियाको स्मरण गराउँदै न्याय पाउन नसकेको भन्दै आक्रोश व्यक्त गरे । उनीहरूले ‘अपराधअनुसार सञ्चालकलाई दण्ड’, ठगी गर्ने सहकारी सञ्चालकको नागरिकता, पासपोर्ट, बैंक खाता तथा सम्पत्ति रोक्का गर्नुपर्ने माग गरेका छन् ।
साथै, उनीहरूले नयाँ बन्ने सरकारसँग सहकारी पीडितलाई न्याय दिलाउन ठोस कदम चाल्नुपर्ने माग गर्दै प्लेकार्डसहित प्रदर्शन गरेका थिए । प्रदर्शनकारीहरूले आफ्ना माग पूरा नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया