सलहेश फूलबारी मेलाको अन्तरराष्ट्रियकरणको खाँचो

BusinessPati बिजनेस पाटी
|
२०८३ बैशाख १
|
204 views

ललितपुर - नयाँ वर्षको दिन सिरहाको लहानमा अवस्थित लोकनायक सलहेश फूलबारी मेला लाग्ने गर्दछ । यो मेलाको आफ्नै प्राचीन र ऐतिहासिक महत्व रहेको छ । मिथिलाको धार्मिक–ऐतिहासिक भूमिमा रहेको यो स्थल दलित समुदायअन्तर्गत पर्ने दुसाद (पासवान) जातिको पुख्र्यौली इतिहाससँग जोडिएको छ । नेपालका महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक स्थलहरूमध्ये यो पनि एक विशिष्ट पहिचान बोकेको स्थल हो तर दलित समुदायको इतिहाससँग सम्बन्धित भएकै कारण यो स्थल लामो समयसम्म ओझेलमा परेको मात्र छैन्, पछिल्लो समय विभिन्न कारणले विवादमा समेत तानिएको छ ।

यस सन्दर्भमा राज्यले गम्भीर अध्ययन र अनुसन्धान गरी यस स्थललाई यसको मौलिक इतिहाससँग जोडिएको समुदायकै अग्राधिकार सुनिश्चित हुने गरी संरक्षण तथा व्यवस्थापन गर्न आवश्यक देखिन्छ । साथै, नयाँ वर्षको अवसरमा यस मेलाको व्यापक प्रचारप्रसार गरी विदेशी पर्यटक आकर्षित गर्ने उद्देश्यले अन्तरराष्ट्रियकरण गर्नु आजको आवश्यकता हो । यसबाट राज्यको आर्थिक, सामाजिक र ऐतिहासिक विकासमा महत्वपूर्ण योगदान पुग्ने निश्चित छ ।

नेपालको तराई–मधेस भौगोलिक रुपमा मात्र नभई यो इतिहास, लोकविश्वास र सांस्कृतिक स्मृतिहरूको जीवित सङ्ग्रहालय पनि हो । यहाँका प्रत्येक पर्व, मेला र परम्पराले कुनै न कुनै सामाजिक, ऐतिहासिक वा सांस्कृतिक अर्थ बोकेका छन् । यिनै परम्पराहरूको बीचमा गहिरो जनविश्वास, पहिचान र प्रतिरोधको चेतनासँग गाँसिएको एक महत्वपूर्ण सांस्कृतिक अभ्यास हो—राजा सलहेशको कथा र फूलबारी मेला । जुन प्रत्येक नयाँ वर्षको दिन विशेष उत्साहका साथ मनाइन्छ ।

वैशाख १ नेपाली नयाँ वर्षको सुरुवात मात्र होइन्, यो समयको पुनरारम्भ, आशा र नवजीवनको प्रतीक पनि हो । पहाडी क्षेत्रझैं मधेसमा पनि नयाँ वर्षले सामाजिक, धार्मिक र सांस्कृतिक गतिविधिलाई नयाँ ऊर्जा दिन्छ । तर मधेसको विशेषता के हो भने यहाँ नयाँ वर्ष केबल पात्रो परिवर्तनमा सीमित छैन—यो लोकनायकहरूको स्मरण, सामूहिक आस्था र सामाजिक सांस्कृतिक पुनर्जागरणसँग गहिरो रूपमा जोडिएको छ । राजा सलहेशको फूलबारी मेला यसै सन्दर्भमा नयाँ वर्षलाई सामाजिक अर्थ दिने महत्वपूर्ण माध्यम बनेको छ । यहाँ नयाँ वर्षको स्वागत केबल शुभकामना साटासाटबाट मात्र होइन्, सांस्कृतिक भेला, सामूहिक अनुष्ठान र ऐतिहासिक स्मरणमार्फत गरिन्छ ।

राजा सलहेश मधेसी समाजका विशेषगरी दुसाध (पासवान) समुदायका लागि केवल ऐतिहासिक पात्र मात्र होइनन्, उनी सामाजिक न्याय, समानता र प्रतिरोधका प्रतीक पनि हुन् । मौखिक परम्पराअनुसार उनी १३औँ वा १४औँ शताब्दीका वीर, न्यायप्रिय र जनमुखी समाजिक शासक थिए । उनको कथा लिखित इतिहासमा सीमित रूपमा पाइए पनि लोकगीत, नाच, नाटक र सामुदायिक स्मृतिमा गहिरोसँग स्थापित छ । इतिहासशास्त्रीय दृष्टिले हेर्दा सलहेश जस्ता पात्रहरू ‘लोकइतिहास’ का प्रतिनिधि हुन्—जहाँ औपचारिक दस्तावेजभन्दा जनस्मृति र सांस्कृतिक अभ्यासले इतिहास निर्माण गर्छ । दलित समुदायले भोग्दै आएको ऐतिहासिक विभेद, बहिष्कार र शोषणको सन्दर्भमा सलहेशको कथा आत्मसम्मानको स्रोत बनेको छ । यसले एउटा सन्देश दिन्छ—’हामी पनि इतिहासका निर्माता हौँ ।’

राजा सलहेशसँग सम्बन्धित प्रमुख स्थलका रूपमा महिसौथा गढलाई लिइन्छ । यसलाई उनको दरबार रहेको स्थान मानिन्छ । यस्ता स्थलहरू केवल धार्मिक केन्द्र मात्र होइनन्, यी सांस्कृतिक भूगोलका महत्वपूर्ण अङ्ग हुन् । फूलबारी मेला वरिपरि मानिक दह, पोखरीया गढ, पतारी ऐतिहासिक मेलाहरु पनि लाग्ने गर्छन् । यसले कुनै समुदायको ऐतिहासिक उपस्थिति, सांस्कृतिक निरन्तरता र पहिचानलाई भौगोलिक रूपमा स्थापित गर्छन् तर विडम्बना के छ भने यस्ता स्थलहरूको संरक्षणमा राज्यको ध्यान अझै पुग्न सकेको छैन । यदि महिसौथा गढलगायतका क्षेत्रहरूको वैज्ञानिक अध्ययन, संरक्षण र व्यवस्थित प्रवद्र्धन गरियो भने यसले राष्ट्रिय सम्पदाका रूपमा मान्यता पाउन सक्छ भने अन्तरराष्ट्रिय बजारीकरण पनि गर्न सकिन्छ ।

सिरहाको लहान क्षेत्रमा पर्ने सलहेश फूलबारीमा लाग्ने मेला यस सम्पूर्ण परम्पराको केन्द्र हो । यसको मूल कथा राजा सलहेश र मालिनीबीचको प्रेमसँग जोडिएको छ । जनविश्वासअनुसार हरेक वर्ष वैशाख महिनामा फूलबारीको एक विशेष रुखमा सुनाखरी फूल आफैं फुल्ने गर्दछ, जसलाई सलहेश र मालिनीको प्रतीकात्मक मिलनको रूपमा व्याख्या गरिन्छ । वैज्ञानिक दृष्टिले यो मौसमी जैविक प्रक्रिया हुन सक्छ । तर स्थानीय समुदायका लागि यो दिव्य चमत्कार हो । यही बिन्दुमा विज्ञान र आस्थाबीचको सहअस्तित्व देखिन्छ । समाजशास्त्रीय रूपमा हेर्दा यस्ता विश्वासहरूले समुदायलाई एकताबद्ध बनाउने, सांस्कृतिक निरन्तरता कायम राख्ने र सामूहिक पहिचान निर्माण गर्ने काम गर्छन् ।

फूलबारी मेला नेपालको मात्र होइन्, भारतको बिहार राज्यसँग पनि गहिरो रूपमा जोडिएको छ । हरेक वर्ष हजारौं श्रद्धालु बिहारबाट यहाँ आउने गर्छन् । यसले मधेसको सांस्कृतिक सम्बन्धलाई सीमापार विस्तार गरेको छ । यसलाई ‘ट्रान्सनेशनल कल्चर’ का रूपमा व्याख्या गर्न सकिन्छ—जहाँ संस्कृति राजनीतिक सीमाभन्दा माथि उठेर समुदायलाई जोड्छ । यो पक्षले नेपाल–भारतबीच सांस्कृतिक कूटनीतिलाई मजबुत बनाउन ठूलो भूमिका खेल्न सक्छ । यदि राज्यले यसलाई सही रूपमा उपयोग गर्न सकेमा यो क्षेत्र सांस्कृतिक सहकार्यको उत्कृष्ट उदाहरण बन्न सक्छ । अघिल्लो वर्ष यो धर्तीलाई थप परिस्कृत तथा अन्तरराष्ट्रियकरण गर्न डा.भीम राव अम्बेडकरको शालिकसहित पार्क बनाउने सुनिश्चित भएको थियो । तर विवादको कारण सफल हुन सकेन ।

फूलबारी मेला केवल सांस्कृतिक कार्यक्रम मात्र होइन्, यो स्थानीय अर्थतन्त्रको महत्वपूर्ण आधार पनि हो । प्रत्येक वर्ष हजारौं मानिसहरूको सहभागिताले बजारमा ठूलो आर्थिक गतिविधि सिर्जना गर्छ । होटल, यातायात, खुद्रा व्यापार, हस्तकला र खाद्य व्यवसायले राम्रो आम्दानी गर्छन् । यसले स्थानीय रोजगारी सिर्जना गर्नुका साथै गरिबी न्यूनीकरणमा योगदान पु¥याउँछ ।यदि यसलाई व्यवस्थित पर्यटनसँग जोड्न सकियो भने यो क्षेत्र आर्थिक रूपमा अझ सशक्त बन्न सक्छ तर हालसम्म योजनाबद्ध विकासको अभाव, अस्थायी संरचना र कमजोर व्यवस्थापनले यसको पूर्ण सम्भावना उपयोग हुन सकेको छैन ।

फूलबारी मेलाको सबैभन्दा महत्वपूर्ण पक्ष यसको सामाजिक र राजनीतिक सन्देश हो । दलित समुदायका लागि सलहेश केवल देवता होइनन्, उनी आत्मसम्मान र प्रतिरोधका प्रतीक हुन् । नेपालको ऐतिहासिक रूपमा विभेदपूर्ण सामाजिक संरचनामा सलहेशको कथा वैकल्पिक शक्ति स्रोत बनेको छ । यसले पहिचान, समानता र अधिकारका लागि संघर्ष गर्ने प्रेरणा दिन्छ ।यसलाई ‘सांस्कृतिक राजनीति’ का रूपमा पनि बुझ्न सकिन्छ—जहाँ सांस्कृतिक अभ्यासहरू सामाजिक परिवर्तनका माध्यम बन्छन् ।

यति महत्वपूर्ण सांस्कृतिक सम्पदा हुँदाहुँदै पनि फूलबारी मेला अझै राष्ट्रिय सीमाभित्रै सीमित छ । यसको अन्तरराष्ट्रियकरण आवश्यक हुनुका प्रमुख कारणहरू स्पष्ट छन् । पहिलो, विश्वव्यापी पहिचानका लागि—मधेसी दलित समुदायको समृद्ध इतिहास र सांस्कृतिक विरासतलाई अन्तरराष्ट्रिय स्तरमा चिनाउन आवश्यक छ । दोस्रो, पर्यटन प्रवद्र्धनका लागि—धार्मिक तथा सांस्कृतिक पर्यटनमार्फत विदेशी पर्यटक आकर्षित गरी देशको पर्यटन क्षेत्रलाई बलियो बनाउन सकिन्छ । तेस्रो, आर्थिक सशक्तीकरणका लागि—मेलासँग जोडिएका स्थानीय व्यवसाय, हस्तकला र सेवा क्षेत्रलाई दिगो रूपमा सुदृढ गर्न अन्तरराष्ट्रिय ध्यान आवश्यक हुन्छ । चौथो, सांस्कृतिक कूटनीतिका लागि—नेपाल, भारतलगायत अन्य देशहरूसँग सांस्कृतिक सम्बन्ध विस्तार गर्दै आपसी समझदारी र सहकार्यलाई अझ मजबुत बनाउन यसको अन्तरराष्ट्रियकरण अपरिहार्य देखिन्छ ।

अन्तरराष्ट्रियकरणका सम्भावित उपायहरू

सलहेश फूलबारी मेलाको संरक्षण, प्रवद्र्धन र अन्तरराष्ट्रियकरणका लागि दीर्घकालीन र बहुआयामिक रणनीति आवश्यक छ । सबैभन्दा पहिले, सलहेश परम्परालाई “युनेस्को अमूर्त सांस्कृतिक सम्पदा” सूचीमा सूचीकृत गराउने पहलले यसको अन्तरराष्ट्रिय मान्यता र संरक्षणमा महत्वपूर्ण योगदान पु¥याउँछ । त्यसैगरी फूलबारी मेला, महिसौथा गढ, मनिक दह, पोखडीया गढ, पतारी तथा सप्तरीका दिनाभद्री मन्दिरलाई जोडेर “दलित सांस्कृतिक सलहेश सर्किट” निर्माण गर्न सकिन्छ । जसले धार्मिक–सांस्कृतिक पर्यटनलाई बढावा दिन्छ र स्थानीय अर्थतन्त्र सुदृढ बनाउँछ ।

डिजिटल अभिलेखीकरणमार्फत सलहेशसँग सम्बन्धित लोककथा, गीत, नाटक र अनुष्ठानहरू सुरक्षित गर्नुपर्छ, जसले मौखिक परम्परालाई दीर्घकालीन रूपमा जोगाउँछ । साथै अन्तरराष्ट्रिय महोत्सव आयोजना, पूर्वाधार विकास (सडक, होटल, सरसफाइ, सूचना केन्द्र) र शैक्षिक पाठ्यक्रममा समावेशीकरण पनि आवश्यक छन् । तर, पूर्वाधारको अभाव, व्यवस्थापन कमजोरी र संरक्षण चुनौतीहरूलाई समाधान गर्न राज्य, स्थानीय तह, निजी क्षेत्र र समुदायबीच सहकार्य अपरिहार्य छ । समावेशी दृष्टिकोण अपनाएर मात्र दलित समुदायसँग जोडिएको सलहेश परम्पराको दीगो संरक्षण सम्भव हुन्छ ।

अन्त्यमा राजा सलहेश र फूलबारी मेला केवल धार्मिक वा सांस्कृतिक कार्यक्रम मात्र होइन । यो मधेसी दलित समुदायको आत्मा, इतिहास, प्रेम, सङ्घर्ष र पहिचानको सङ्गम हो । तर यसलाई एउटै जातिसँग मात्र जोड्नु हुँदैन्, तर ऐतिहासिकता भने जोड्नुपर्छ । र, सबैको साझा र राष्ट्रकै सम्पत्तिको रुपमा विकास गर्नुपर्छ । यसले नयाँ वर्षलाई समयको परिवर्तनको रुपमा मात्र होइन, सामाजिक चेतनाको पुनर्जागरणका रूपमा स्थापित गर्छ । त्यसैले यसको संरक्षण र प्रवद्र्धन गर्नु केबल स्थानीय समुदायको जिम्मेवारी मात्र होइन, सम्पूर्ण राष्ट्रको कर्तव्य हो । अब नीतिगत प्रतिबद्धता, वैज्ञानिक अध्ययन, सांस्कृतिक सम्मान र दिगो विकासको स्पष्ट दृष्टिकोणको आवश्यक छ । यदि हामीले समयमै यसलाई अन्तरराष्ट्रिय स्तरमा स्थापित गर्न सक्यौं भने वैशाख १ को फूलबारी मेला केबल एउटा परम्परा मात्र नभई नेपालको राष्ट्रिय गौरव र विश्व सांस्कृतिक सम्पदाको उज्यालो प्रतीक बन्न सक्छ ।

 पात्रो/राशिफल  रेडियो YouTube