ललितपुर - ललितपुर – नेपालमा पहिलो पटक सालकसम्बन्धी सम्मेलन आज चितवनको माडीमा सुरु भएको छ। बागमती प्रदेश सरकारको वन तथा वातावरण मन्त्रालयको आयोजना तथा डिभिजन वन कार्यालयको संयोजनमा सम्मेलन सञ्चालन भएको हो।
डिभिजन वन कार्यालयका प्रमुख विष्णुप्रसाद आचार्यका अनुसार सम्मेलनमा राष्ट्रिय निकुञ्जका प्रमुख, बागमतीका डिभिजन वन प्रमुख, वन्यजन्तु संरक्षण विभाग, सामुदायिक वन प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि र विज्ञसहित २०० भन्दा बढी सहभागी छन्। सम्मेलनमा सालकको वर्तमान अवस्था, संरक्षण आवश्यकताहरू, चुनौती र भावी रणनीतिमा छलफल हुनेछ।
सालक नेपालमा लोपोन्मुख प्रजातिमा परेको छ र किसानका लागि उपयोगी जनावर मानिन्छ, किनकि यसले बालीनालीमा हानिकारक कीरा फट्याङ्ग्रा खाइरहन्छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार सालक संरक्षित जनावर हो। अवैध व्यापारमा संलग्न भएमा रु १० लाख जरिवाना र १५ वर्षसम्म कैद सजायको व्यवस्था छ।
सम्मेलनले आजै ‘माडी घोषणापत्र’ जारी गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ। बागमती प्रदेश सरकारले आगामी वर्षदेखि योजनाबद्ध रूपमा सालक संरक्षण कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ।

बिजनेस पाटी