लाली गुराँसले राताम्य सल्यानका डाँडापाखा

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन २६
|
561 views

ललितपुर - ललितपुर – वसन्त ऋतु नजिकिँदै जाँदा सल्यानका डाँडापाखामा यतिबेला लालीगुराँस ढकमक्क फुलेको छ । हरियाली वनभित्र फैलिएको रातो रङले सल्यानका पहाडलाई प्रकृतिले आफैं सजाइदिएको जस्तो देखिन्छ । जंगलभरि राताम्य गुराँस फुल्दा प्रकृति अझ मनमोहक बनेको देखिन्छ । स्थानीय बासिन्दा र आगन्तुकका लागि यो दृश्य निकै आकर्षक बनेको छ ।

लाली गुराँस केवल एउटा फूल मात्र नभई नेपालीको भावना र पहिचानसँग जोडिएको प्रतीक पनि हो। नेपाल को राष्ट्रिय फूलका रूपमा चिनिने गुराँसले प्राकृतिक सौन्दर्यसँगै राष्ट्रिय गौरवसमेत बोकेको छ ।

बाल्यकालदेखि ‘नेपालको राष्ट्रिय फूल के हो?’ भन्ने प्रश्नको उत्तर ‘लाली गुराँस’ भन्दै हुर्किएको पुस्ताका लागि यो फूल झनै आत्मीय मानिन्छ ।

यद्यपि पछिल्ला वर्षहरूमा जलवायु परिवर्तन को प्रभावका कारण गुराँस पहिलेभन्दा केही चाँडै फुल्न थालेको देखिन्छ । कतिपय स्थानमा भने सिजन सुरु नहुँदै केही फूल ओइलिन थालेका छन् ।

वसन्त ऋतुमा गुराँसले राताम्य बनेका डाँडाकाँडा, हरियाली जंगल र शान्त वातावरणले यहाँ आउने जो–कोहीलाई मोहित बनाउँछ । यसको उचित प्रचार–प्रसार र संरक्षण गर्न सकिए प्रकृति पर्यटन प्रवर्द्धनका लागि सल्यान महत्वपूर्ण गन्तव्य बन्न सक्ने सम्भावना देखिन्छ ।

 पात्रो/राशिफल  रेडियो YouTube