समानुपातिक बन्दसूचीमा रोचक तथ्यः युवामा महिला, प्रौढ उमेर समूहमा पुरुष उम्मेदवार बढी

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ २३
|
714 views

ललितपुर - ललितपुर –  आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको बन्दसूचीमा २५ वर्षदेखि ८० वर्षभन्दा माथिसम्मका उम्मेदवार समावेश भएका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको विवरणअनुसार युवातर्फ महिला उम्मेदवारको संख्या बढी देखिएको छ भने प्रौढ उमेर समूहमा पुरुष उम्मेदवार तुलनात्मक रूपमा बढी छन् ।

आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार बन्दसूचीमा कूल तीन हजार १३५ उम्मेदवार छन् । तीमध्ये महिला एक हजार ७७२ र पुरुष एक हजार ३६३ रहेका छन् ।

उमेर समूहअनुसार विवरण यसप्रकार छः
२५–२९ वर्ष: ११७ महिला, ५१ पुरुष (१६८)
३०–३४ वर्ष: २०१ महिला, ८४ पुरुष (२८५)
३५–३९ वर्ष: २६८ महिला, १३३ पुरुष (४०१)
४०–४४ वर्ष: ३४१ महिला, १९४ पुरुष (५३५)
४५–४९ वर्ष: २९४ महिला, १६२ पुरुष (४५६)
५०–५४ वर्ष: २२० महिला, १६६ पुरुष (३८६)
५५–५९ वर्ष: १५५ महिला, २०० पुरुष (३५५)
६०–६४ वर्ष: १०३ महिला, १५८ पुरुष (२६१)
६५–६९ वर्ष: ४४ महिला, ११४ पुरुष (१५८)
७०–७४ वर्ष: १९ महिला, ६७ पुरुष (८६)
७५–७९ वर्ष: ९ महिला, २३ पुरुष (३२)
८० वर्षमाथि: १ महिला, ११ पुरुष (१२)

समावेशी समूहका आधारमा आदिवासी जनजातितर्फ ९११, खसआर्यतर्फ ९४६, दलिततर्फ ४२५, थारुतर्फ २०३, मधेसीतर्फ ५०२ र मुस्लिमतर्फ १४८ उम्मेदवार समावेश छन् ।

गत पुस १३ र १४ गते ६४ राजनीतिक दलले बन्दसूची पेस गरेका थिए। तीमध्ये २२ दलले मात्रै ११० वटै स्थानमा उम्मेदवारी मनोनयन गरेका थिए ।

उजुरीका आधारमा आयोगले ७६ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाएको छ। हटाइएकामध्ये कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेका २१, प्रदेशसभा समानुपातिक बन्दसूचीमा दोहोरो नाम भएका २५, जरिवाना नतिरेका १०, २५ वर्ष उमेर पूरा नभएका चार, मतदाता नामावलीमा नाम नभएका एक, पिछडिएका क्षेत्रमा नाम नरहेका दुई, महिला उम्मेदवार पेस हुनुपर्ने स्थानमा पुरुष पेस भएका एक, सम्बन्धित दलले नाम हटाउन लेखेका १० तथा अन्य कारणले दुई जना रहेका छन् ।

सूचीअनुसार औसत रूपमा प्रति निर्वाचन चिह्न उम्मेदवारी दिने दलको संख्या ६० रहेको छ। न्यूनतम ११ स्थानमा मात्रै बन्दसूची पेस गर्ने दल १० रहेका छन् भने एकल चिह्न लिएका दलहरूको संख्या पनि १० छ ।

निर्वाचनका लागि ९३ राजनीतिक दलले समानुपातिक प्रणालीमा आवेदन दिए पनि बन्दसूची पेस गर्ने दल ६३ मात्रै देखिएका छन्। तीमध्ये ५७ निर्वाचन चिह्न कायम गरिएको आयोगले जनाएको छ ।

 पात्रो/राशिफल  रेडियो YouTube