२०८२ फाल्गुन ६ | Feb 18, 2026

सम्पादकको कलम बाट – महिला सम्पादकहरू किन ?

BusinessPati बिजनेस पाटी
|
२०८२ असार ६
|
969 views

सावित्री तिमल्सीना

आर्थिक क्षेत्रका सत्य तथ्य र ताजा गतिविधि, सूचना र समाचार सम्प्रेषण गरी नेपालको आर्थिक गतिविधिलाई चलायमान बनाउने, अर्थतन्त्रलाई सही दिशामा लैजान नीतिगत परिवर्तनका लागि सुझाव, दबाब र खबरदारी गर्ने र हरेक कोणबाट अर्थतन्त्रलाई नियाल्ने उद्देश्यले झण्डै १० वर्ष अघि बिधिवत रूपमा १२७ नम्बरमा दर्ता भएको बिजनेस पाटी मिडिया प्रा लि ले सञ्चालन र प्रकाशन गर्दै आएको बिजनेस पाटी डट कम अनलाइनको सम्पादकको जिम्मेवारी मलाई सुम्पेकोमा सबै भन्दा पहिले संस्था प्रति आभार व्यक्त गर्दछु ।

बिजनेस पाटी मिडिया प्रा लिको सञ्चालक समितिको बैठकले मलाई सम्पादकीय जिम्मेवारी दिने निर्णय गरेर सम्पादक परिवर्तनको जानकारी गराउँदै सूचना विभाग र प्रेस काउन्सिलमा अद्यावधिक गराउँदै गर्दा केही चासोहरू सुनिए । पछिल्लो समय महिलाहरू सञ्चार माध्यममा सम्पादकको भूमिकामा नियुक्त हुनेको सङ्ख्यामा बढोत्तरी भएको रहेछ । यो सुखद पक्ष हो । झण्डै ५ हजार बढी दर्ता भएका अनलाइनहरूमा महिला सम्पादकको सङ्ख्या औलामा गनिने बाट वृद्धि हुँदै जानुको कारण पत्रकारिता पेसा प्रतिको आकर्षण एक ठाउँमा होला तर अर्को भनेको विश्वसनीयता र पत्रकारिता प्रतिको जबाफदेहितामा महिलाहरू अब्बल हुँदै गएको रूपमा यसलाई लिन सकिने जानकारहरूको बुझाई छ ।

पत्रकारिता हतारको पेसा पनि हो । त्यस माथि अहिलेको प्रविधिको तीव्र विकास र प्रतिस्पर्धाको बजारमा सूचना सङ्कलन र समाचार सम्प्रेषणमा पनि प्रतिस्पर्धा छ । त्यस कारण कहिलेकाहीँ गलत सूचना सम्प्रेषण हुँदा समाज भ्रमित हुने उदाहरणहरू प्रशस्त छन् । यसमा मुख्य गेट किपरका रूपमा रहेका सम्पादकहरू समेत कहिलेकाहीँ बिबिधकारणबस चिप्लिएका उदाहरण पनि हामी कहाँ नभएका होइनन् तर तुलनात्मक रूपमा महिला प्रकाशक वा सम्पादक रहेका सञ्चारमाध्यमहरू अलि बढी संवेदनशील हुने गरेको सञ्चार क्षेत्रमा लामो समय व्यतीत गरेकाहरूको टिप्पणी रहने गरेको छ । सायद त्यसैले होला मलाई बिजनेस पाटी मिडिया प्रा लि ले यो जिम्मेवारीको भारी बोकाई दिएको ।

अर्को कुरा आर्थिक पत्रकारिता गरिरहेकाहरू प्रति कर्पोरेट हाउसहरूले लगाउने केही आरोप पनि छन् । ती कति सत्य हुन कति झुट हुन बिस्तारै खुल्दै जाला नै तर जुन सुकै बिटको पत्रकारिता गरे पनि जबाफदेहिता स्वयमले बहन गर्नै पर्छ । महिलाले फेयर पत्रकारिता गर्छन् भन्ने जन विश्वास बजारमा सुनिन्छ । यसो भन्दै गर्दा पुरुष पत्रकारहरूले अन फेयर गर्छन् भनिएको हैन । महिला र पुरुषले गर्ने पत्रकारिता पेसा एउटै सिद्धान्तमा आधारित छ । आचार संहिता एउटै हो । सत्य तथ्यमा आधारित पत्रकारिताले नै असल समाज निर्माण हुन्छ ।

यही असल समाज निर्माणको यात्रामा मलाई विश्वास गर्ने सम्पूर्ण टिम प्रति पुन आभार व्यक्त गर्दै सम्पूर्ण पाठकहरू माझ सधैँ सत्य तथ्य निष्पक्ष सूचना र समाचारहरू प्रकाशनमा भूमिका निर्वाह गर्दै जाने र यस मिडियाले अहिले सम्म कमाएको ख्याति आर्जन गरेको विश्वासलाई बरकरार राख्ने प्रतिबद्धता व्यक्त गर्दछु ।
(तिमल्सीना बिजनेस पाटी डट कम की नवनियुक्त सम्पादक हुन् । )

फेसबुकबाट तपाईको प्रतिक्रिया