सम्पादकीय : मधेश जलिरहेको बेला हामीले मानवताको आवाज सुन्नुपर्छ

BusinessPati बिजनेस पाटी
|
२०८३ श्रावण १५
|
459 views

ललितपुर -

मधेश फेरि अशान्त बनेको छ। सडकमा नाराबाजी छ, सामाजिक सञ्जालमा आक्रोश छ, समुदायहरूबीच अविश्वास बढिरहेको छ र कतिपय स्थानमा डर तथा त्रासको वातावरण सिर्जना भएको छ। सबैभन्दा दुःखद पक्ष के छ भने धर्मका नाममा मानिसहरू एकअर्काविरुद्ध उभिन थालेका छन्।

    प्रश्न उठ्छ, आखिर कसको जितका लागि यो संघर्ष भइरहेको छरु यदि एउटा समुदाय रोइरहेको छ भने अर्को समुदायले कसरी खुसी मनाउन सक्छरु यदि एउटा परिवारले आफ्ना प्रियजन गुमाइरहेको छ भने अर्को समुदायले कसरी विजयको उत्सव मनाउन सक्छरु आखिर यसबाट कसले फाइदा पाइरहेको छ?

    सत्य के हो भने धर्मले कहिल्यै घृणा सिकाउँदैन। कुनै पनि धर्मग्रन्थले निर्दोष मानिसमाथि हिंसा गर्न प्रेरित गर्दैन। मन्दिर, मस्जिद, गुम्बा वा चर्च जुनसुकै धार्मिक स्थल किन नहोस्, ती सबैले मानवता, प्रेम, करुणा र सहिष्णुताको सन्देश दिन्छन्। तर विडम्बना, आज धर्मलाई नै विभाजन र वैमनस्य फैलाउने हतियार बनाइँदै छ।

    मधेशको इतिहास हेर्ने हो भने यहाँ विभिन्न भाषा, संस्कृति र धर्म मान्ने मानिसहरूले दशकौँदेखि एकअर्काको दुःख र सुखमा साथ दिँदै आएका छन्। चाडपर्वमा एकअर्काको घरमा पुग्ने परम्परा केवल सामाजिक सम्बन्ध मात्र होइन, साझा सभ्यता पनि हो। तर आज केही उग्र सोच, अफवाह र राजनीतिक स्वार्थका कारण त्यही सम्बन्धमा दरार पैदा गर्ने प्रयास भइरहेको छ।

    अझ दुःखको कुरा के छ भने सामाजिक सञ्जालमा फैलाइएका अपुष्ट समाचार र उत्तेजक अभिव्यक्तिहरूले आगोमा घिउ थप्ने काम गरिरहेका छन्। केही मानिसहरू आफ्ना राजनीतिक स्वार्थ पूरा गर्न धार्मिक भावनालाई उक्साइरहेका छन्। उनीहरूलाई न त समाजको शान्तिसँग सरोकार छ, न त जनताको सुरक्षासँग। उनीहरूका लागि समाज जति विभाजित हुन्छ, आफ्नो स्वार्थ पूरा गर्ने बाटो त्यति नै सहज हुन्छ।

    यही बेला सबैभन्दा बढी जिम्मेवारी राजनीतिक नेतृत्व, धार्मिक अगुवा, नागरिक समाज र सञ्चारमाध्यमको काँधमा आएको छ। सञ्चारमाध्यमले सत्य र तथ्यलाई आधार बनाएर समाजलाई सही दिशा देखाउनुपर्छ। राजनीतिक दलहरूले उत्तेजना होइन, संयमको सन्देश दिनुपर्छ। धार्मिक अगुवाहरूले विभाजन होइन, सहिष्णुताको शिक्षा दिनुपर्छ।

    मधेशका नागरिकले पनि एउटा कुरा कहिल्यै बिर्सनु हुँदैन—हामी सबैको परिचय केवल धर्मबाट तय हुँदैन, हाम्रो परिचय हाम्रो मानवताले पनि तय गर्छ। हाम्रो भविष्य साझा छ, हाम्रो समाज साझा छ र हाम्रो देश पनि साझा छ।

    आज मधेशलाई आगो होइन, आशाको आवश्यकता छ। घृणा होइन, विश्वासको आवश्यकता छ। प्रतिशोध होइन, संवादको आवश्यकता छ। हिंसा होइन, सद्भावको आवश्यकता छ।

      किनकि जब धर्मभन्दा माथि मानवतालाई राखिन्छ, तब मात्र समाजले शान्तिको सास फेर्न सक्छ। र जब समाज शान्त हुन्छ, तब मात्र राष्ट्र बलियो बन्छ।

       पात्रो/राशिफल  रेडियो YouTube