
ललितपुर - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचेतक प्रकाशचन्द्र परियारले दसैँको समयमा नागरिकहरु देशका विभिन्न भूभागबाट आ–आफ्ना घर जानुपर्ने भएकाले उनीहरुका लागि सार्वजनिक यातायातको राम्रो प्रबन्ध गर्न सरकारसँग माग गर्नुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा सचेतक परियारले दसैँका बेला नागरिकहरु विशेषगरी काठमाडौँबाट बाहिर अर्थात् आफ्ना घर जाँदा यात्राका क्रममा गाह्रो हुने गरेकाले यस पटक त्यस्तो नहोस् भनेर सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।
सचेतक परियारले दसैँका समयमा लाखौँ नागरिकले सार्वजनिक सवारीबाट यात्रा गर्ने भएकाले यात्रालाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन सरकारसँग माग गर्नुभएको हो । उहाँले हरेक वर्ष दसैँ मनाउन काठमाडौँ उपत्यकाबाट मात्रै १५ लाखभन्दा बढी नागरिक आफ्नो थातथलो फर्किने गरेका तथ्याङ्क प्रस्तुत गर्दै विगतका वर्षमा नागरिकले भोग्दै आएको सास्ती अहिले कुनै पनि हालतमा भोग्नु नपरोस् भनेर अहिल्यैदेखि सरकारले काम गर्नुपर्ने बताउनुभयो ।
सचेतक परियारले भन्नुभयो, ‘पहिले त टिकट पाउनै महाभारत, अनि भेडाबाख्राझैँ कोचिएर यात्रा गर्नुपर्ने बाध्यता । एकातिर बाटोका खाल्डाखुल्डीले थिलथिलो बनाउँछ भने अर्कोतिर मनपरी भाडाले नागरिक प्रताडित छन् ।’
देशभरका मुख्य राजमार्गमा रहेका खाल्डाखुल्डी तत्काल पुरेर यातायात सहज बनाउने काममा अहिलेदेखि नै लाग्न र टिकट बुकिङ्लाई पनि व्यवस्थति गर्न सचेतक परियारले आग्रह गर्नुभयो ।

बिजनेस पाटी











