प्रधानमन्त्रीको अनुपस्थितिमा संसद् अवरुद्ध, सभामुखद्वारा स्थगित बैठक अझै सुरु भएन

BusinessPati बिजनेस पाटी
|
२०८३ बैशाख ३०
|
102 views

ललितपुर - प्रतिनिधिसभाको बैठक सभामुख डीपी अर्यालले १५ मिनेटका लागि स्थगित गरे पनि एक घण्टा बितिसक्दा समेत पुनः सुरु हुन सकेको छैन । बुधबारको बैठकमा प्रधानमन्त्री बालेन शाह उपस्थित नभएसम्म सदन अगाडि बढ्न नदिने अडानसहित विपक्षी दलहरूले नाराबाजी गरेपछि सभामुखले बैठक स्थगित गरेका हुन् ।

आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्री शाह स्वयंले दिनुपर्ने माग विपक्षी दलहरूको छ । तर प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जवाफ दिने तयारी भएपछि संसद्‌मा विवाद चर्किएको हो ।

    शून्य समयमा सांसदहरूको धारणा सकिएपछि सभामुख अर्यालले नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिन अर्थमन्त्री वाग्लेलाई समय दिएका थिए । त्यसलगत्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा तथा श्रम संस्कृति पार्टीका सांसदहरूले उठेर विरोध जनाएका थिए ।

      विपक्षी सांसदहरूले प्रधानमन्त्रीको आवाज नै नसुन्ने हो भने संसद्मा सरकारको नीति तथा कार्यक्रममाथि छलफल गर्नुको औचित्य के भन्ने प्रश्न उठाएका थिए । उनीहरूले प्रधानमन्त्रीलाई अनिवार्य रूपमा सदनमा उपस्थित गराउन सभामुखसँग माग समेत गरेका थिए ।

      सत्तापक्षका सांसदहरूले भने प्रतिनिधिसभा नियमावलीको दफा ३८ अनुसार प्रधानमन्त्री उपस्थित हुन नसक्ने अवस्थामा उनले तोकेको मन्त्रीले नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिन र जवाफ दिन सक्ने स्पष्ट व्यवस्था रहेको तर्क गरेका थिए ।

      तर विपक्षी सांसदहरूले “दफा ३८ देखाएर पाँच वर्षसम्म प्रधानमन्त्रीको आवाज नसुन्ने हो ?” भन्दै आपत्ति जनाएका थिए ।

      यही विवादबीच सभामुख अर्यालले बैठक १५ मिनेटका लागि स्थगित भएको घोषणा गरेका थिए । अहिले सभामुखले विपक्षी दलका नेता, प्रमुख सचेतक तथा सचेतकहरूसँग छलफल गरिरहेका छन् ।

       पात्रो/राशिफल  रेडियो YouTube