२०८२ चैत्र २१ | Apr 04, 2026

मतदाता भेटघाटमा व्यस्त उम्मेदवार पोखरेल

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन ११
|
408 views

ललितपुर – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव एवं शङ्कर पोखरेल (दाङ क्षेत्र नम्बर २ का उम्मेदवार) मतदाता भेटघाटमा व्यस्त हुनुहुन्छ । मत माग्ने क्रममा उहाँले सङ्घ, प्रदेश र स्थानीय तहमा एमाले नेतृत्वमा हुँदा भएका विकासका कामबारे जानकारी दिँदै पार्टीमाथि फैलाइएका भ्रम चिर्ने प्रयास भइरहेको बताउनुभयो ।

मतदाता भेटघाटका क्रममा घोराही उपमहानगरपालिका–६ लालीगुरास टोलका स्थानीयले सडक र सिँचाइ योजनाको काम सुरु भएकोमा धन्यवाद दिँदै बाँकी सडक ग्राभेल र कल्भर्ट निर्माणको माग गरेका छन्। वडा कमिटी अध्यक्ष मोहन खड्काले वडामा रु २० करोडभन्दा बढीका योजना अघिल्लो वर्ष पार्न सफल भएको र यस वर्ष रु १७ करोडभन्दा बढीका योजना सङ्घ, प्रदेश र स्थानीय सरकारबाट ल्याइएको दाबी गर्नुभयो ।

स्थानीयले चुनावी वाचाभन्दा विगतमा भएका विकासका काम हेरेर मतदान गर्ने धारणा राखेका छन् । क्रिमलाल चौधरीलगायतले पहिले वर्षायाममा हिँडडुल गर्न समस्या हुने गरेको स्मरण गर्दै अहिले सडक कालोपत्रे भएपछि सहज भएको बताए ।

महासचिव पोखरेलले टोल–बस्ती, जातीय समुदाय, धार्मिक संस्था र किसानका घरमा पुगेर आफू र आफ्नो पार्टीलाई मतदान गर्न आग्रह गर्नुभएको छ । विकासका काम र आगामी योजनालाई आधार मानेर मत दिन उहाँले मतदातालाई अपिल गर्नुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया