ललितपुर — गायक सानुबाबु महर्जनका नेपाल भाषाको ‘नुगः या मिखां’ र नेपाली भाषाको ‘तिम्रो याद’ शीर्षकका दुई एल्बम गत हप्ता ललितपुरस्थित ज्यापु प्रज्ञा भवनमा आयोजित समारोहबीच सार्वजनिक गरिएको छ । एल्बमहरूको विमोचन ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले गर्नुभयो ।
विमोचन समारोहमा बरिष्ठ गायिका तथा प्राज्ञ संगीत राना प्रधान, संगीतकार जुगल डंगोल, भूपेन्द्र रायमाझी, गायक रत्न बेहोसी, गायक तथा समालोचक अमरराज शर्मा राजोपाध्याय, गायक जुजुकाजी रञ्जित, गायिका संगीता शाक्य, संगीतकार मनराजा नकर्मी, संचारकर्मी तथा गीतकार डब्बु क्षेत्री, चलचित्र निर्देशक माधव राज खरेललगायतका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
नेपाली भाषाको एल्बम ‘तिम्रो याद’ मा पाँच गीत समावेश छन् । एल्बममा दिनेश अधिकारी, डब्बु क्षेत्री, श्रीपुरुष ढकाल, अमरराज शर्मा राजोपाध्याय र जुगल डंगोलका शब्द रचनाहरू रहेका छन्। राजु सिंह, भूपेन्द्र रायमाझी र जुगल डंगोलले संगीत तथा संगीत संयोजन गरेका गीतहरू एल्बममा समेटिएका छन् । अनायासै तिम्रो याद’ र ‘हिँसि दुख मयु’ गीतमा गायिका निशा देशारले सानुबाबु महर्जनलाई गायनमा साथ दिनुभएको छ ।
त्यस्तै, नेपाल भाषाको एल्बम ‘नुगः या मिखां’ मा आठ गीत समावेश गरिएको छ । एल्बमका अधिकांश गीतमा सानुबाबु महर्जनकै स्वर, शब्द र संगीत रहेको छ भने संगीत संयोजनमा भूपेन्द्र बज्राचार्य, जुगल डंगोल, रबिक धाय र सुमन कपालीको योगदान रहेको छ । दुर्गालाल श्रेष्ठ, धर्मकृष्ण सिकर्मी, रेखा भाय र जगमोहन वामिका शब्द रचनासमेत एल्बममा समेटिएका छन् ।
समारोहमा ‘हिँसि दुख मयु’ र ‘मस्यु जितः छु जु छु जु’ शीर्षकका दुई म्युजिक भिडियोसमेत प्रदर्शन गरिएको थियो । भिडियोका कलाकार, निर्देशक, छायाकार तथा प्राविधिकहरूको पनि कार्यक्रममा सहभागिता रहेको थियो ।
कार्यक्रमको सहजीकरण संचारकर्मी सुरज बज्राचार्यले गर्नुभएको थियो भने दुवै एल्बममा सहभागी कलाकार, सर्जक तथा श्रष्टाहरूलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो। दर्शक तथा समर्थकहरूको बाक्लो उपस्थितिमा सम्पन्न समारोहको सभापतित्व ज्यापु समाजकी प्रथम उपाध्यक्ष शर्मिला महर्जनले गर्नुभएको थियो ।



















फेसबुकबाट तपाईको प्रतिक्रिया