ललितपुर - सरकारले सार्वजनिक सेवा प्रवाहलाई स्वच्छ, मर्यादित र वातावरणमैत्री बनाउन सोमबारदेखि आगामी जेठ १ गतेसम्म देशभर ‘सरसफाइ सप्ताह २०८३’ सञ्चालन गर्ने भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले विशेष मार्गदर्शन जारी गर्दै सङ्घीय मन्त्रालयदेखि स्थानीय तहसम्मका सबै सरकारी निकायलाई अभियानमा सक्रिय सहभागी हुन निर्देशन दिएको हो । अभियानको औपचारिक उद्घाटन सोमबार बिहान ८ः३० बजे वीर अस्पतालमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहेताको उपस्थितिमा हुने तय गरिएको छ ।
सरकारले जारी गरेको ‘सरसफाइ सप्ताह सञ्चालनसम्बन्धी मार्गदर्शन,२०८३ अनुसार न्यून लागतमा अधिकतम प्रतिफल प्राप्त हुने गरी सरकारी कार्यालयहरूमा सरसफाइ मापदण्ड कार्यान्वयन गरिनेछ । नियमित सरसफाइ र फोहोर व्यवस्थापनको स्पष्ट मापदण्ड नहुँदा सेवा प्रवाह, कर्मचारी तथा सेवाग्राहीको स्वास्थ्यमा नकारात्मक असर परेको निष्कर्षपछि यो अभियान अघि बढाइएको हो ।
मार्गदर्शनमा सरकारी सूचना बोर्ड नागरिक बडापत्र र सङ्केत चिह्नहरू व्यवस्थित राख्नुपर्ने, चर्किएका भित्ताको मर्मत तथा रङरोगन गर्नुपर्ने र कार्यालयका मुख्य सेवा क्षेत्र तथा प्रवेशद्वार सफा र आकर्षक बनाइने उल्लेख छ ।
त्यस्तै, सबै शौचालयलाई दुर्गन्धरहित बनाइने, नियमित पानी र साबुनको व्यवस्था सुनिश्चित गरिने तथा महिलामैत्री र अपाङ्गतामैत्री बनाउनुपर्ने व्यवस्था गरिएको छ। दैनिक सरसफाइको अभिलेख राख्न पनि निर्देशन दिइएको छ ।
कार्यालयहरूमा कुहिने र नकुहिने फोहोर छुट्याउन कम्तीमा दुई प्रकारका डस्टबिन राख्नुपर्ने, खुला रूपमा फोहोर जलाउन नपाइने तथा पुराना काम नलाग्ने सामग्रीको उचित व्यवस्थापन गर्नुपर्ने व्यवस्था गरिएको छ । कार्यालय परिसरको १०० मिटर वरिपरि सफाइ राख्न, नाली तथा ढल सफा गर्न र अव्यवस्थित तार तथा पोस्टर हटाउन पनि निर्देशन दिइएको छ ।
सेवाग्राहीलाई सम्मानजनक वातावरण उपलब्ध गराउन हेल्प डेस्क स्थापना गर्ने र सूचना प्रणालीलाई प्रभावकारी बनाउने योजना पनि समावेश गरिएको छ ।
अभियानलाई दिगो बनाउन प्रत्येक निकायले ‘सरसफाइ सम्पर्क व्यक्ति’ तोक्नुपर्ने, साप्ताहिक कार्यतालिका तयार गरी मासिक स्व–मूल्याङ्कन गर्नुपर्ने व्यवस्था गरिएको छ ।
यस अभियानको कार्यान्वयन र अनुगमनको जिम्मेवारी सम्बन्धित निकाय प्रमुखलाई दिइएको छ । अभियानमा सङ्घीय, प्रादेशिक र स्थानीय कार्यालयसँगै सार्वजनिक शैक्षिक संस्थाहरू पनि सहभागी हुनेछन् ।

बिजनेस पाटी
















