ललितपुर – नेपाल एसबिआई बैंकको सिन्धुलीको घ्याङलेख गाउँपालिका-२, हायुटारस्थित बैंकको शाखामा भएको लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले ५३ वर्षीय ज्ञानबहादुर तामाङ पक्राउ गरेको छ । तामाङ बैंकको शाखा रहेको घ्याङलेख गाउँपालिका-२ का हुन् ।
प्रहरीका अनुसार तामाङलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले काठमाडौँको कीर्तिपुर क्षेत्रबाट पक्राउ गरेको हो । पक्राउ परेका तामाङलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि सिन्धुली पठाइएको प्रहरीले जनाएको छ ।
उक्त लुटपाट घटनाको मुख्य योजनाकारका रूपमा बैंक रहेको घरका घरधनी छविलाल स्याङ्तानलाई प्रहरीले पक्राउ गरिसकेको छ । घटनामा संलग्न रहेको आरोपमा उनका जेठान चतुरमान बज्युलाई पनि माघ १ गते जंगलमा लुकिरहेको अवस्थामा नियन्त्रणमा लिइएको थियो ।
प्रहरी अनुसन्धानअनुसार बैंक लुट्ने योजना असोज महिनादेखि नै बनाइएको खुलेको छ । लुटपाटअघि २३ र २८ गते ‘ट्रायल’ गरिएको र त्यसपछि २९ पुसको साँझ साढे ७ बजेतिर योजना कार्यान्वयन गरिएको थियो । सो क्रममा लुटेराहरूले खुकुरी देखाएर सुरक्षागार्ड र कर्मचारीलाई नियन्त्रणमा लिँदै बैंकबाट नगद लुटेका थिए ।
यस प्रकरणमा हालसम्म काभ्रेपलाञ्चोक साविक फलामेटार–२ भई हाल बनेपामा बस्दै आएका सुमो चालक भगवत सिंह थापा, सिन्धुली घ्याङलेख–२ का चतुरमान बज्यु, चितवन भरतपुरका सशांक श्रेष्ठ, नुवाकोट पञ्चकन्याका निरन गिरी र विवेक थापा, घरधनी छविलाल स्याङ्तान र एक जना १६ वर्षमुनिका किशोरसहित धेरै अभियुक्त पक्राउ परिसकेका छन् ।
प्रहरीले उनीहरूको साथबाट लुटिएको नगद, २ थान खुकुरी, १ थान प्लास्टिकको नक्कली पेस्तोल, ५ थान मोबाइल, ठूलो टेप, कालो र रातो गरी ४ थान नकाब तथा एक जोर कालो पञ्जा बरामद गरेको जनाएको छ । अनुसन्धानका क्रममा लुटपाटपछि जंगलमा पैसा गाडिएको तथ्यसमेत खुलेको छ ।
घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
















फेसबुकबाट तपाईको प्रतिक्रिया