
ललितपुर - सेयर बजार आज पनि ओरालो लागेको छ । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १९.३४ अंकले घटेर २६२२.४८ विन्दुमा पुगेको छ ।
यस दिन बजारमा कुल ५ अर्ब ७ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको थियो । कारोबार रकम उल्लेख्य रहे पनि अधिकांश कम्पनीका लगानीकर्ताले नोक्सानी व्यहोरेका छन् । नेप्सेका अनुसार मंगलबार २१७ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने ५७ वटा कम्पनीका सेयरधनीले मात्र आम्दानी गरेका छन् ।
आज सर्वाधिक कमाउनेमा सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिजका लगानीकर्ता रहेका छन् । कम्पनीको सेयर मूल्य एकै दिन १४.९९ प्रतिशत अर्थात् प्रतिकित्ता ६८ रुपैयाँ ४० पैसाले बढेको हो । त्यसैगरी माउन्ट एभरेस्ट पावर डेभलपमेन्टका सेयरधनीले प्रतिकित्ता ७८ रुपैयाँ ६० पैसा आम्दानी गरेका छन् । अन्य कम्पनीका लगानीकर्ताले भने अधिकतम ४.७८ प्रतिशतसम्म मात्र नाफा कमाएका छन् ।
यता सर्वाधिक गुमाउनेमा सगरमाथा जलविद्युत् कम्पनीका लगानीकर्ता परेका छन् । कम्पनीको सेयर मूल्य १०.६३ प्रतिशत अर्थात् प्रतिकित्ता ५१ रुपैयाँले घटेको नेप्सेले जनाएको छ । अन्य कम्पनीका सेयरधनीले पनि अधिकतम ९.४० प्रतिशतसम्म नोक्सानी व्यहोरेका छन् ।
मंगलबार पाँचवटा कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो। अर्थात् ती कम्पनीका लगानीकर्ताले न त नाफा कमाए, न त घाटा व्यहोरे । दिनभरिमा ५५ हजार २ सय ४६ पटक कारोबार हुँदा डेढ करोडभन्दा बढी कित्ता सेयर खरिदबिक्री भएको थियो ।
नेप्सेका अनुसार मंगलबार व्यापार उपसूचक मात्रै बढेको छ भने अन्य सबै उपसूचक ओरालो लागेका छन् । लगातार दोस्रो दिन बजार घटेसँगै लगानीकर्ताको मनोबलमा केही दबाब देखिएको छ ।

बिजनेस पाटी