नेप्से १० अंकले बढ्दा, ४ अर्ब ४५ करोडकाे कारोबार

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन १३
|
561 views

ललितपुर - ललितपुर – बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १०.३० अंकले बढेर २६४८.९० विन्दुमा पुगेको छ । लगातार तेस्रो दिन बजार उकालो लागेको हो ।

यस दिन सेन्सेटिभ इण्डेक्स १.२० अंक, फ्लोट इण्डेक्स ०.८५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४४ अंकले वृद्धि भएका छन् । १३ उपसमूहमध्ये १० उपसमूह बढ्दा ३ उपसमूह घटेका छन् । जीवन बीमा उपसमूह सर्वाधिक १.७९ प्रतिशतले बढेको छ भने वित्त, म्युचुअल फण्ड र व्यापार उपसमूह सामान्य घटेका छन् ।

कारोबार रकममा पनि वृद्धि देखिएको छ । ३३३ कम्पनीका ४८ हजार ६४० पटकको कारोबारमा ४ अर्ब ४५ करोड ११ लाख ४९ हजार रुपैयाँ बराबरको १ करोड ४ लाख ५६ हजार कित्ता शेयर किनबेच भएको छ ।

यस दिन सालपा विकास बैंक र रिलायन्स स्पिनिङ्ग मिल्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयर ९ प्रतिशतभन्दा बढी बढ्दा सुपरमाई हाइड्रोपावरको शेयर पनि ९ प्रतिशतभन्दा बढीले उकालो लागेको छ ।

यता हिमालयन पावर पार्टनरको शेयर मूल्य सर्वाधिक ५.९८ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आँखु खोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रहँदै २८ करोड ६९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । त्यसपछि ङादी ग्रुप पावरको करिब २५ करोड रुपैयाँ र एसवाई प्यानल नेपालको २३ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

 पात्रो/राशिफल  रेडियो YouTube