
ललितपुर - साताको अन्तिम कारोबार दिन सेयर बजार मापक नेप्से परिसूचक लगातार दोस्रो दिन घटेर बन्द भएको छ । अघिल्लो दिनको गिरावटलाई निरन्तरता दिँदै शुक्रबार बजार ११.३७ अंकले घटेर २७५५.४१ विन्दुमा झरेको हो । समग्र सूचकहरू घटे पनि बजारको कारोबार रकम भने बढेको देखिएको छ ।
बिहीबार ४ अर्ब ७० करोड रुपैयाँ बराबरको कारोबार भएको बजारमा शुक्रबार ३५१ कम्पनीका १ करोड २७ लाखभन्दा बढी कित्ता सेयर ५ अर्ब ६२ करोड रुपैयाँभन्दा बढीमा किनबेच भएको हो । कुल ५५ हजारभन्दा बढी कारोबार भएको नेप्सेले जनाएको छ ।
१३ उपसमूहमध्ये चार उपसमूहको परिसूचक बढ्दा नौ उपसमूहमा गिरावट आएको छ । वित्त उपसमूह सबैभन्दा बढी २.७७ प्रतिशतले बढेको छ भने होटल तथा पर्यटन, म्युचुअल फन्ड र निर्जीवन बीमा उपसमूहमा सामान्य वृद्धि देखिएको छ ।
यस दिन विशेषगरी केही कम्पनीहरूको सेयरमा उल्लेख्य उतारचढाव देखिएको छ । कालिञ्चोक हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुँदै ९८ रुपैयाँ ८० पैसाले बढेर ७५७ रुपैयाँ ६० पैसामा अन्तिम कारोबार भएको छ । त्यस्तै उपकार लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य साढे ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।
कारोबार रकमका आधारमा आँखु खोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ, जसको मात्र एक दिनमै ५५ करोड ६९ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । सिटि होटल र एनबीबीएल डिबेन्चर २०८५ पनि उच्च कारोबार हुने सूचीमा परेका छन् ।

बिजनेस पाटी


