
ललितपुर - बिहीबार सेयर बजार सामान्य गिरावटसहित बन्द भएको छ । अघिल्लो कारोबार दिन बुधबारको सुधारपछि यस दिन नेप्से परिसूचक दबाबमा रहँदै ५.०६ अंकले घटेर २७००.४७ विन्दुमा झरेको हो ।
नेपाल स्टक एक्सचेन्जका अनुसार आज ३ अर्ब ४० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबारमा ७८ कम्पनीको सेयर मूल्य बढ्दा १८० कम्पनीको घटेको छ भने १४ कम्पनीको मूल्य स्थिर रहेको छ ।
आज एपोलो हाइड्रोपावरको सेयरमा सकारात्मक सर्किट लाग्दै १५ प्रतिशतले मूल्य बढेको छ । यस्तै, सोपान फर्मास्युटिकल्स र आत्मनिर्भर लघुवित्त को सेयर क्रमशः १४.९९ र १२.५३ प्रतिशतले उकालो लागेको छ ।
कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत् कम्पनी अग्रस्थानमा रह्यो, जसको ३१ करोड रुपैयाँभन्दा बढीको कारोबार भयो ।
उपसमूहतर्फ विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत्, लगानी, जीवन बीमा, उत्पादन, निर्जीवन बीमा र अन्य समूह घटेका छन् भने वाणिज्य बैंक, फाइनान्स, लघुवित्त, सामूहिक लगानी कोष तथा व्यापार समूहमा हरियाली देखिएको छ ।

बिजनेस पाटी