झिनो अंकले बढ्यो नेप्से, कारोबार रकम ४ अर्ब नाघ्यो

BusinessPati बिजनेस पाटी
|
२०८३ श्रावण २६
|
306 views

ललितपुर - मंगलबार सेयर बजार सामान्य अंकले बढेको छ । नेप्से परिसूचक ०.७९ अंकले बढेर २६४१.८५ विन्दुमा पुगेको छ। कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेर ४ अर्ब रुपैयाँ नाघेको छ ।

यस दिन सेन्सेटिभ इन्डेक्स ०.८५ अंकले बढेको छ । फ्लोट इन्डेक्स ०.१७ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.३० अंकले बढेको छ ।

    १३ उपसमूहमध्ये ६ उपसमूहको सूचक बढेको छ भने ७ उपसमूह घटेका छन् । बैंकिङ, होटल तथा पर्यटन, जलविद्युत्, लगानी, जीवन बीमा र अन्य उपसमूहको सूचक सामान्य अंकले बढेका छन् ।

    समग्रमा बजार परिसूचक झिनो अंकले बढे पनि कारोबार रकममा आएको सुधारले लगानीकर्ताको गतिविधि भने अघिल्लो दिनको तुलनामा बढेको देखिएको छ ।

      सोमबार ३ अर्ब ६७ करोड रुपैयाँको सेयर कारोबार भएकोमा मंगलबार ३४० स्टकको ५२ हजार ७३ पटकको कारोबारबाट ४ अर्ब ११ करोड ९ लाख ७४ हजार रुपैयाँबराबरको सेयर किनबेच भएको छ । यस दिन ९५ लाख ३४ हजार कित्ता सेयर कारोबार भएको छ ।

      कारोबारमा आएको अप्पर लोहोरे खोला हाइड्रोपावरको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा पुगेको छ । कम्पनीको सेयर मूल्य ५६ रुपैयाँ ९० पैसाले बढेर ४३६ रुपैयाँ ६० पैसा पुगेको छ। मूल्य बढ्ने अन्य कम्पनीको वृद्धि भने ६ प्रतिशतभन्दा कम रहेको छ ।

      यस दिन महिला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक १४.९१ प्रतिशत घटेको छ ।

      कारोबार रकमका आधारमा सोलु हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । कम्पनीको ४४ करोड ८७ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ । रिडी पावर कम्पनीको कारोबार रकम ३३ करोड ५० लाख रुपैयाँ नाघेको छ भने ङादी ग्रुप पावरको करिब १८ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।

       पात्रो/राशिफल  रेडियो YouTube