
ललितपुर - साताको पहिलो कारोबार दिन सेयर बजार परिसूचक नेप्से ३४.६३ अंकले घट्दै २७०४ अंकमा झरेको छ ।
कारोबार सुरु भएको पहिलो १० मिनेटसम्म बजारले सामान्य वृद्धि देखाए पनि त्यसपछि भने अन्तिम समयसम्म निरन्तर ओरालो लागेको हो । यससँगै नेप्से लगातार चौथो कारोबार दिन घटेको छ। यसअघि मंगलबार २६ अंक, बुधबार २५ अंक र बिहीबार ५ अंकले बजार घटेको थियो भने शुक्रबार सार्वजनिक बिदाका कारण कारोबार बन्द रहेको थियो ।
कारोबार रकममा पनि गिरावट देखिएको छ। अघिल्लो दिन ४ अर्ब ९१ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा सोमबार घटेर ४ अर्ब २६ करोड रुपैयाँमा सीमित भएको छ ।
आजको कारोबारमा २७ कम्पनीको सेयर मूल्य बढ्दा २४० कम्पनीको घटेको छ भने २ कम्पनीको मूल्य स्थिर रहेको छ ।
समूहगत सूचकतर्फ माइक्रोफाइनान्स बाहेक सबै समूह घटेका छन्। माइक्रोफाइनान्स समूह सामान्य १ अंकभन्दा कमले हरियो देखिएको छ। जलविद्युत्, विकास बैंक र उत्पादन समूहमा २ प्रतिशतभन्दा बढी गिरावट आएको छ ।
अन्य समूहहरूमा बैंकिङ ०.८६ प्रतिशत, विकास बैंक २.१४, फाइनान्स ०.९६, होटल तथा पर्यटन १.३५, जलविद्युत् २.२३, लगानी १.३६, जीवन बीमा ०.४९, उत्पादन तथा प्रशोधन २.५४, निर्जीवन बीमा ०.९३, अन्य ०.५० तथा व्यापार १.३८ प्रतिशतले घटेका छन् ।
व्यक्तिगत कम्पनीतर्फ फरवार्ड माइक्रोफाइनान्सको सेयर मूल्य सबैभन्दा धेरै १५ प्रतिशतले बढेको छ भने झापा इनर्जीको ७.९९ प्रतिशतले वृद्धि भएको छ ।
त्यसैगरी, कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य सबैभन्दा धेरै १२.५८ प्रतिशतले घटेको छ । माइखोला हाइड्रोपावर ८.५९ प्रतिशत, नारायणी डेभलपमेन्ट बैंक ८.५६ प्रतिशत र साल्पा विकास बैंक ८.०१ प्रतिशतले घटेका छन् ।
आज सर्वाधिक कारोबार भएका कम्पनीहरूमा एनआरएन इन्फ्रास्ट्रक्चर, रिलायन्स स्पिनिङ मिल्स, नेसनल हाइड्रोपावर, आँखुखोला जलविद्युत् कम्पनी र एनआईसी एसिया बैंक रहेका छन् ।

बिजनेस पाटी













