ललितपुर – फाल्गुन कृष्ण चतुर्दशीको मध्यरातमा पर्ने पावन अवसरका रूपमा मनाइने महाशिवरात्रि पर्व आज देशभर श्रद्धा र भक्तिभावका साथ मनाइँदैछ । आराध्यदेव भगवान् शिवको विशेष पूजा–आराधनासहित यो पर्व मनाउने परम्परा रहिआएको छ । आज दिउँसो १६ः५२ बजेसम्म त्रयोदशी तिथि रहेकामा त्यसपछि चतुर्दशी प्रारम्भ हुने र सोमबार दिउँसो १७ः३५ बजेसम्म रहने जनाइएको छ ।
मध्यरातमा चतुर्दशी तिथि आइतबार परेकाले सोही दिन महाशिवरात्रि मनाउने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति ले जनाएको छ । समितिका सदस्य प्रा. डा. देवमणि भट्टराईका अनुसार फाल्गुन कृष्ण चतुर्दशीको मध्यरातमा परब्रह्मले शिवरूप धारण गरेको शास्त्रीय मान्यता रहेकाले यही तिथिमा पूजा, आराधना र दर्शन गर्दा यस लोकमा सुख–शान्ति तथा परलोकमा सद्गति प्राप्त हुने विश्वास छ ।
वैदिक सनातन हिन्दू धर्मावलम्बीहरू बिहानैदेखि नदी, कुण्ड तथा तलाउमा स्नान गरी शिवालय पुगेर श्रद्धापूर्वक पूजाअर्चना गर्छन् । शिव उत्पत्तिको रातका नामबाट चिनिएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रिमध्ये एक पवित्र रातका रूपमा शिव पुराण लगायतका ग्रन्थमा वर्णित छ ।
धार्मिक मान्यताअनुसार दीनदुःखी तथा कष्टमा रहेका जीवको हृदयमा धर्म जागृत गराउने आशुतोष भगवान् शिवको प्रिय दिनका रूपमा पनि यस पर्वलाई लिइन्छ । माघ महिनामा प्रकृतिमा देखिने शुष्कता र संहारात्मक तत्वपछि फागुनमा पलाउने हरियालीलाई शिवको कल्याणकारी स्वरूपसँग जोडेर शिवरात्रि मनाउने परम्परा विकसित भएको मानिन्छ ।
व्रतमध्ये उत्कृष्ट मानिने महाशिवरात्रिमा भक्तजनले उपवास बसी शिव मन्दिरमा दूध, धतुरो र बेलपत्र चढाउने चलन छ । रातभर जाग्राम बसे सर्वसिद्धि प्राप्त हुने र यमलोक जानु नपर्ने धार्मिक विश्वास रहिआएको छ । भगवान् महादेवलाई जाडो हुने जनविश्वासका कारण घर–आँगन, चोक तथा मठमन्दिरमा धुनी बालेर भजनकीर्तन गरिन्छ र सोही आगोमा तयार गरिएको प्रसाद ग्रहण गरिन्छ ।
राष्ट्रिय सांस्कृतिक पर्वका रूपमा स्थापित यस दिन पशुपतिनाथ मन्दिर मा चार प्रहरका विशेष पूजा, महादीप, अखण्डदीप, लक्ष्यबत्ती तथा दीपोत्सव आयोजना गरिन्छ । लाखौँ बेलपत्र अर्पण गरिनुका साथै कैलाशकुट र किरातेश्वर क्षेत्रमा शास्त्रीय नृत्य–सङ्गीत प्रस्तुत गरिन्छ । नेपालका विभिन्न स्थानसँगै छिमेकी भारतबाट समेत तीर्थयात्रीहरू पशुपति दर्शनका लागि आउने गर्छन् ।
पर्वका अवसरमा पशुपति क्षेत्रमा विशेष व्यवस्थापन गरिएको जनाइएको छ । मेला भर्न आउने भक्तजनको सहजताका लागि चारै ढोका बिहान २ बजेदेखि खुला गरिएको छ । विगतमा झैँ यस वर्ष पनि गाँजा, भाङ, धतुरो लगायत लागुपदार्थ निषेध गरिएको र उल्लङ्घन गर्नेहरूमाथि कारबाही गरिने जानकारी कोषका पदाधिकारीले दिएका छन् ।
दर्शनार्थीको चाप व्यवस्थापन गर्न मित्रपार्क–गौरीघाट, उमाकुण्ड–दक्षिणामूर्ति हुँदै रुद्रगाडेश्वर उत्तरढोका, बत्तीसपुतली–गौशाला–तिलगङ्गा क्षेत्र हुँदै दक्षिणढोका तथा वनकाली ओरालो हुँदै पश्चिम प्रवेशमार्गबाट छुट्टाछुट्टै लाइनको व्यवस्था गरिएको छ । आवश्यकता अनुसार तिलगङ्गा राममन्दिरतर्फ अतिरिक्त लाइनसमेत सञ्चालन गरिनेछ । मूल मन्दिर परिसरभित्र उत्तर, दक्षिण र पश्चिमतर्फबाट भित्री लाइन व्यवस्थापन गरिएको छ । सवारी पार्किङका लागि सिफल, तिलगङ्गा, गुह्येश्वरीपारि, वनकाली लगायत स्थान तोकिएका छन् ।
उपत्यकाका गोकर्णेश्वर मन्दिर, डोलेश्वर महादेव मन्दिर लगायत देशभरका शिवालयहरूमा पनि आज विशेष पूजाआराधना र दर्शनका कार्यक्रम आयोजना भइरहेका छन् ।



















फेसबुकबाट तपाईको प्रतिक्रिया