ललितपुर – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सीमा क्षेत्रका मतदानस्थलको अनुगमन गरिएको छ । निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले कोशी प्रदेश र सुनसरी जिल्ला अन्तर्गतका सुरक्षा निकायले संयुक्त रूपमा मतदानस्थलको निरीक्षण सुरु गरेका हुन् ।
निर्वाचन नजिकिँदै जाँदा सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभाग का प्रतिनिधिले जिल्लाका विभिन्न मतदान केन्द्र पुगेर सुरक्षा अवस्थाको स्थलगत निरीक्षण गरिएको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिनुभयो ।
निरीक्षण विशेषगरी नेपाल–भारत सीमासँग जोडिएका बर्जु गाउँपालिका, देवागन्ज, हरिनगर र कोसी गाउँपालिका का मतदानस्थलमा केन्द्रित रहेको छ । मतदान केन्द्रको भौतिक संरचना, संवेदनशील क्षेत्रको पहिचान, भीड व्यवस्थापन योजना र आपत्कालीन अवस्थाको तयारीबारे जानकारी लिन अनुगमन गरिएको प्रजिअ घिमिरेले बताउनुभयो ।
निर्वाचन अवधिभर उच्च सतर्कता अपनाइने र कुनै पनि अवाञ्छित गतिविधि हुन नदिने सुरक्षा अधिकारीले प्रतिबद्धता व्यक्त गरेका छन् । जिल्ला प्रशासन कार्यालय सुनसरी सँग समन्वय गर्दै सुरक्षा रणनीति कार्यान्वयन गरिएको र मतदातालाई निश्चिन्त भएर मतदान प्रक्रियामा सहभागी हुन आग्रह गरिएको जिल्ला प्रहरी प्रमुख केशबकुमार थेबेले जानकारी दिनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया