
ललितपुर - सिरियाको एक अदालतले अपदस्थ शासक बशर अल–असद र उहाँको सरकारका वरिष्ठ नेताविरूद्धको मुद्दामा आइतबार पहिलो सुनुवाई गरेको छ ।
सिरियामा भएको चामत्कारिक आन्दोलनको बलमा पूर्व शासकहरूलाई घेर्ने अभियान सफल हुन थालेपछि तत्कालिन राष्ट्रपति असद र उहाँका भाइ माहेर सिरियाबाट भागेका थिए ।
अदालतले उनीहरूको अनुपस्थितिमा नै मुद्दा चलाइने भएको छ । उनीहरूका एक आफन्त तथा पूर्व सुरक्षा अधिकारी आतिफ नाजिबलाई आन्दोलनका क्रममा नियन्त्रणमा लिई अहिले प्रहरी हिरासतमा राखिएको छ।
“आज हामी सिरियामा सङ्क्रमणकालीन न्यायको पहिलो सुनुवाइ सुरु गर्दैछौँ,” न्यायाधीश फख्र अल–दिन अल–आर्यनले सुनुवाईको सुरूमा बताउनुभयो ।
“यसमा हिरासतमा एक प्रतिवादी, कठघरामा उपस्थित र न्यायबाट भागेका प्रतिवादीहरू पनि समावेश छन्,” उहाँले भन्नुभयो ।
नाम नबताउने सर्तमा एक न्यायिक स्रोतले एएफपीसँग कुरा गर्दै यो कारबाहीले असद, उहाँका भाइ र नाजिबजस्ता अन्य प्रमुख व्यक्तित्वहरूको सुनुवाइको तयारी सुरु भएको जनाएको छ।
असद सरकारको पतनपछि सन् २०२५ जनवरीमा पक्राउ परेका नजिब धारीदार जेलको जर्सीमा दमास्कसको अदालतमा उपस्थित भएको सिरियाली सञ्चारमाध्यमहले देखाएका छन् ।
धारीदारले दक्षिणी प्रान्त दारामा रहेको सिरियाको राजनीतिक सुरक्षा शाखाको नेतृत्व गर्नुभएको थियो । सिरियाको दाराबाट सन् २०११ मा सबैभन्दा पहिले विद्रोह सुरू भएको थियो ।

बिजनेस पाटी











