नवजात शिशुको मृत्युदर घटाउन रोग पहिचान प्रणाली विस्तार अपरिहार्य

BusinessPati बिजनेस पाटी
|
२०८३ मंसिर १३
|
204 views

ललितपुर - जन्मँदा स्वस्थ देखिने सबै शिशु रोगमुक्त हुन्छन् भन्ने हुँदैन । कतिपय नवजात शिशुमा जन्मजात तथा वंशाणुगत रोगका लक्षण जन्मेको केही दिनपछि मात्र देखिन थाल्छन् । त्यतिबेलासम्म रोगले गम्भीर रूप लिइसकेको हुन सक्छ । समयमै रोग पहिचान हुन नसक्दा उपचार जटिल बन्नुका साथै शिशुको ज्यानै जाने जोखिम हुन्छ ।

यस्तो जोखिम न्यूनीकरण गर्न जन्मेको केही दिनभित्रै गरिने नवजात शिशु स्क्रिनिङ महत्वपूर्ण मानिन्छ । यस परीक्षणबाट बाहिरबाट स्वस्थ देखिने शिशुमा समेत लुकेर रहेका जन्मजात तथा मेटाबोलिक रोगको जोखिम पहिचान गर्न सकिन्छ ।

    चौथो नेपाल बहुसूचक सर्वेक्षण २०८१/८२ को प्रतिवेदनअनुसार नेपालमा हाल प्रति एक हजार जीवित जन्ममा १७ नवजात शिशुको मृत्यु हुने गरेको छ । नवजात शिशु मृत्युदर घटाउन सरकारले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आए पनि जन्मजात तथा वंशाणुगत रोग समयमै पहिचान गर्ने परीक्षण प्रणालीको विस्तार आवश्यक देखिएको छ ।

    यसैलाई ध्यानमा राखेर परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले २०८१ असोज २० गतेदेखि नवजात शिशु स्क्रिनिङ सेवा औपचारिक रूपमा सुरु गरेको हो ।

    अस्पतालको बालरोग विभागका वरिष्ठ कन्सल्टेन्ट डा. शैलेन्द्र वीर कर्माचार्यका अनुसार जन्मँदा सामान्य देखिने शिशुमा पनि मेटाबोलिक तथा वंशाणुगत रोग हुन सक्ने भएकाले लक्षण देखिनुअघि नै परीक्षण गरी जोखिम पहिचान गर्न सके उपचार सहज हुन्छ ।

    सुरुमा हेर्दा यसमा बढी लगानी गर्नुपर्ने जस्तो देखिए पनि दीर्घकालीन रूपमा यो निकै सस्तो हुन्छ । रोगको पहिचान र उपचार समयमै गर्न सकियो भने बच्चाले पछि धेरै दुःख पाउनुपर्दैन, उहाँले भन्नुभयो ।

      प्रारम्भिक स्क्रिनिङमा कुनै रोगको जोखिम देखिएमा त्यसको पुष्टि गर्न थप परीक्षण गरिन्छ । स्क्रिनिङले रोगको सम्भावना मात्र देखाउने भएकाले त्यसैका आधारमा शिशुलाई रोग लागेको निष्कर्ष निकाल्न मिल्दैन । थप परीक्षणबाट रोग पुष्टि भएपछि आवश्यक उपचार सुरु गरिन्छ ।

      अहिले अस्पतालमा यो सेवा निःशुल्क उपलब्ध छ । तर अभिभावकमा पर्याप्त जनचेतना नहुँदा अपेक्षाअनुसार सबै नवजात शिशु परीक्षणको दायरामा आउन नसकेको डा. कर्माचार्यले बताउनुभयो ।

      हामी अझै सफलताको चरणमा पुगिसकेका छैनौँ, सुरुवाती चरणमै छौँ । यसबारे पर्याप्त रूपमा सचेतना फैलाउन सकिएको छैन । अब स्क्रिनिङको दायरा अझै बढाउनुपर्ने छ, उहाँले भन्नुभयो ।

      परीक्षणको दायरामा सबै शिशुलाई समेट्न चुनौती

      अस्पतालले २०८१ साउनदेखि परीक्षणका रूपमा यो सेवा सञ्चालन गरेको थियो । सुरुमा एक हजार ४० नवजात शिशुको निःशुल्क स्क्रिनिङ गरी कार्यक्रम अघि बढाइएको थियो । पहिलो वर्षमै ५० प्रतिशत नवजात शिशुलाई सेवाको दायरामा ल्याउने लक्ष्य राखिए पनि अपेक्षाअनुसार परीक्षण हुन सकेको छैन ।

      अस्पतालमा वार्षिक करिब २४ हजार शिशुको जन्म हुने गरेको छ । तर जन्मेको केही समयमै शिशुलाई डिस्चार्ज गरेर लैजाने र अभिभावकमा परीक्षणबारे पर्याप्त जानकारी नहुँदा सबैलाई सेवामा समेट्न कठिन भएको अस्पतालको भनाइ छ ।

       पात्रो/राशिफल  रेडियो YouTube