२०८२ चैत्र २१ | Apr 04, 2026

स्ट्रबेरी फार्मले तान्दै आन्तरिक पर्यटक

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन १५
|
612 views

ललितपुर – भरतपुर महानगरपालिका–५ समिचोकस्थित नेपाल एग्रोभाइन प्रालिको स्ट्रबेरी फर्म यतिबेला पर्यटकको आकर्षणको केन्द्र बनेको छ । विगत पाँच वर्षदेखि व्यावसायिक रूपमा सञ्चालनमा रहेको फर्मले स्ट्रबेरीखेतीसँगै एग्रो–टुरिजम प्रवद्र्धनलाई प्राथमिकता दिँदै आएको छ ।

फर्मका प्रमुख सञ्चालकमध्येका एक ससन देवकोटा नौ वर्षअघि अमेरिका बसाइपछि नेपाल फर्किनुभएको हो । अमेरिकामा उच्च शिक्षा हासिल गरेपछि उहाँले एग्रो–टुरिजम मोडलमा आधारित कृषि व्यवसाय सुरु गर्नुभएको हो । हामीले एग्रो–टुरिजम मोडलमा स्ट्रबेरी फर्म सञ्चालन गरेका छौँ । यहाँ आउने आगन्तुकले आफैँ स्ट्रबेरी टिपेर लैजान सक्छन्, उहाँले बताउनुभयो ।

हाल स्ट्रबेरीखेती एक बिघा क्षेत्रफलमा फैलिएको छ भने समग्र फर्म पाँच बिघामा विस्तार गरिएको छ । फर्ममा चार जना स्थायी कर्मचारी कार्यरत छन् भने दैनिक ज्यालादारीमा आठदेखि १० जनासम्म कामदार खटिन्छन् । यस वर्षदेखि आधुनिक प्रविधिबाट स्ट्रबेरीसँगै टमाटर, क्याप्सिकम र खोर्सानी खेतीसमेत सुरु गरिएको छ ।

देवकोटाका अनुसार यहाँ स्ट्रबेरी उत्पादनको मुख्य समय करिब ५० दिनसम्म रहन्छ । सुरुआती वर्षमा अनुसन्धान गरेर उपयुक्त जात छनोट गरिएको उहाँले जानकारी दिनुभयो । विशेषगरी अमेरिकन भेराइटीका स्ट्रबेरी तराई क्षेत्रमा उपयुक्त हुने भएकाले सोही जात लगाइएको छ ।

उहाँका अनुसार उक्त बिरुवा मूलतः अमेरिकामा विकास गरिएको हो र हाल इजिप्टस्थित नर्सरीबाट आयात गरिन्छ । आगामी वर्षदेखि भने बिरुवा स्वदेशमै उत्पादन गर्ने योजना रहेको बताइएको छ ।

“स्ट्रबेरीले अहिले एग्रो–टुरिजमलाई राम्रोसँग प्रवद्र्धन गरेको छ,” देवकोटाले भन्नुभयो । एग्रो–टुरिजममार्फत कृषिसँग प्रत्यक्ष जोडिने अवसर मिल्ने भएकाले बालबालिका तथा विद्यार्थीका लागि यो प्रभावकारी माध्यम बनेको उहाँको अनुभव छ । विभिन्न कृषि कलेजका विद्यार्थीले फर्ममा अध्ययन तथा अनुसन्धान गर्दै आएका छन् । व्यावहारिक शिक्षामा यसले महत्वपूर्ण टेवा पु¥याएको उहाँको भनाइ छ ।

देवकोटाका अनुसार पहाडी भेगमा पाइने भुइँ ऐँसेलु जातका स्ट्रबेरी समुद्री सतहबाट करिब १,७०० देखि १,९०० मिटर उचाइमा राम्रो फल्छन् । “एग्रो–टुरिजमको सम्भावना नेपालमा धेरै छ,” उहाँले भन्नुभयो, मानिस कृषिसँग जोडिने चाहना राख्छन् तर केहीले कमाइपछि खेती छोड्ने प्रवृत्ति पनि देखिन्छ । हाम्रो उद्देश्य भने कृषि पढेर कृषिमै रमाउन सकिन्छ भन्ने सोच विकास गर्नु हो । उहाँले आगामी दिनमा अन्य स्थानमा पनि एग्रो–टुरिजम विस्तार गर्ने योजना रहेको जानकारी दिनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया