अमेरिका र इजरायलसँगको द्वन्द्व चौथो हप्तामा प्रवेश गर्दै गर्दा इरानले विश्वकै महत्वपूर्ण व्यापारिक मार्ग मानिने हर्मुज जलसन्धि सदाकालागि बन्द गर्ने धम्की दिएको छ । इरानी सशस्त्र बलको मुख्यालयले अमेरिकाले इरानका ऊर्जा पूर्वाधारमा आक्रमण गरे प्रतिशोधस्वरूप उक्त जलसन्धि बन्द गरिने चेतावनी दिएको हो ।
इरानी संसदका सभामुख मोहम्मद बाकर कालीबाफले अमेरिकालाई कडा चेतावनी दिँदै इरानको ऊर्जा केन्द्रमा आक्रमण भएमा यस क्षेत्रमा रहेका अमेरिकी सैन्य लगानी तथा पूर्वाधारहरूलाई वैध निशाना बनाइने बताएका छन् । उनले सामाजिक सञ्जाल ‘एक्स’मार्फत ऊर्जा संरचनामा प्रहार भए सम्पूर्ण तेल तथा ऊर्जा सुविधाहरूमा व्यापक क्षति पुर्याइने र तेलको मूल्य लामो समयसम्म उच्च रहने उल्लेख गरेका छन् ।
यसअघि अमेरिकी राष्ट्रपतिले ४८ घण्टाभित्र हर्मुज जलसन्धि ढुवानीका लागि नखुलाइए इरानी पूर्वाधारमा बमबारी गर्ने चेतावनी दिएका थिए। अमेरिकी सेन्ट्रकमले अन्तर्राष्ट्रिय जहाज सञ्चालनमा अवरोध पुर्याउने इरानी नौसैनिक लक्ष्यहरू नष्ट गरिरहेको जनाएको छ।
यता, इजरायली रक्षा बल (आईडीएफ) ले सोमबार तेहरानका विभिन्न रणनीतिक स्थानहरूमा नयाँ चरणको हवाई आक्रमण सुरु गरेको जनाएको छ । आईडीएफका अनुसार सैन्य तालिम केन्द्र, मिसाइल भण्डारण गृह, हतियार उत्पादन स्थल तथा गुप्तचर मन्त्रालयको मुख्यालयलाई निशाना बनाइएको छ ।
इरानले गरेको पछिल्लो ब्यालिस्टिक मिसाइल आक्रमणमा मध्य इजरायलमा कम्तीमा १५ जना घाइते भएका छन् भने घर तथा सडक संरचनामा क्षति पुगेको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इरानलाई ‘सभ्यता र स्वतन्त्र विश्वको शत्रु’को संज्ञा दिँदै अमेरिका र इजरायलले कडा कदम जारी राख्ने बताएका छन् ।
पछिल्लो घटनाक्रमले मध्यपूर्वमा ठूलो युद्धको जोखिम बढाएको छ। यसले विश्व ऊर्जा आपूर्ति र आर्थिक स्थिरतामा गम्भीर असर पार्ने चिन्ता बढेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया