
ललितपुर - सुडानमा जारी द्वन्द्वका क्रममा यौन हिंसालाई सुनियोजित रूपमा प्रयोग गरिँदा त्यसको प्रभाव केवल शारीरिक क्षतिमा सीमित नरही गम्भीर मानसिक स्वास्थ्य सङ्कटमा परिणत भइरहेको भन्दै संयुक्त राष्ट्रसङ्घसँग आबद्ध निकायहरू र स्थानीय सहायता समूहहरूले चिन्ता व्यक्त गरेका छन् । उनीहरूले यस्तो हिंसाबाट बचेकाहरूका लागि तत्काल र दीर्घकालीन मनोसामाजिक सहयोग अपरिहार्य रहेकोमा जोड दिएका छन् ।
अप्रिल २०२३ देखि सुडानी सेना र अर्धसैनिक द्रुत समर्थन बल (आरएसएफ) बीच जारी भीषण द्वन्द्वले दशौँ हजार मानिसको ज्यान लिइसकेको छ भने करिब एक करोड १० लाख मानिस विस्थापित भएका छन् । यही हिंसात्मक वातावरणमा बलात्कार र अन्य यौन अपराधहरूलाई युद्धको हतियारका रूपमा प्रयोग गरिएको विभिन्न प्रतिवेदनहरूले देखाएका छन् ।
मेडिकल च्यारिटी डक्टरस विदाउट बोर्डर्सका अनुसार जनवरी २०२४ देखि नोभेम्बर २०२५ सम्म उत्तर र दक्षिण डार्फर क्षेत्रमा उनीहरूले सञ्चालन गरेका स्वास्थ्य केन्द्रहरूमा यौन हिंसाबाट बचेका कम्तीमा तीन हजार ३९६ जनाले उपचार खोजेका थिए, जसमा अधिकांश महिला र किशोरीहरू रहेका छन् । तर विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का प्रतिनिधिहरूले यो सङ्ख्या वास्तविक अवस्थाको सानो अंश मात्र भएको सङ्केत गरेका छन् ।

बिजनेस पाटी









