ललितपुर – पछिल्लो तीन वर्षमा सुदूरपश्चिम प्रदेशमा १,९२६ व्यक्तिलाई सर्पदंश लागेको स्वास्थ्य निर्देशनालयको तथ्याङ्कले देखाएको छ। तीमध्ये १५४ जनालाई विषालु सर्पले टोकेको छ ।
डोटी, दिपायलस्थित स्वास्थ्य निर्देशनालयका किटजन्य रोग अधिकृत हेमराज जोशीका अनुसार आर्थिक वर्ष २०८२/८३ मा ५८७ जनालाई सर्पदंश लागेको छ। यसमध्ये १७ जनालाई विषालु र ५७० जनालाई विषरहित सर्पले टोकेको छ ।
गत दुई वर्षमा पनि उच्च संख्या देखिएको थियो: २०८१/८२ मा ८२७ र २०८०/८१ मा ५१२ जनालाई सर्पदंश भएको थियो । विषालु सर्पको टोका क्रमशः ४६ र ९१ जनामा भएको तथ्यांक छ ।
प्रदेशका कैलाली र कञ्चनपुर जिल्लामा सर्पदंशको जोखिम बढी रहेको छ । घना बस्ती, खेतबारी, खोलानाला र झाडी धेरै भएका कारण यी क्षेत्रमा सर्पको आवागमन बढी हुने गरेको अधिकृत जोशीले बताउनुभयो । विशेष गरी गोमन र करैत जस्ता विषालु सर्पको टोका बढी हुने र रातिको समयमा करैतले सुतिरहेको अवस्थामा टोकेको घटनाहरू बढी हुने गरेका छन् ।
सर्पदंश प्रायः वर्षायाम र खेतीपातीको समयमा बढ्ने गरेको छ। जेठदेखि असोज महिनासम्म खेतमा काम गर्ने, घर वरपर सर्प पस्ने र बाढी–डुबानका कारण सर्प बस्तीमा पस्ने हुँदा अस्पतालमा बिरामीको चाप बढी हुने गरेको स्वास्थ्यकर्मीहरूले बताएका छन्।
धेरै बिरामी झारफुक, धामी–झाँक्री वा घरेलु उपचारमा निर्भर हुने गरेका छन्, जसले ज्यान जोखिममा पार्ने गरेको छ । कञ्चनपुरको देखतभूली स्वास्थ्य चौकीका प्रमुख लिलाकान्त झाले भने, “सर्पले टोकेपछि समयमै अस्पताल पुगेर ‘एन्टी स्नेक भेनम’ लगाउन सके विषालु सर्पका बिरामी बचाउन सकिन्छ। ढिलाइ हुँदा ज्यान जाने जोखिम बढ्छ।”
हाल सुदूरपश्चिमका सबै जिल्ला प्राथमिक उपचार सेवा उपलब्ध गराइरहेको भए पनि जटिल बिरामीलाई सुविधासम्पन्न अस्पतालमा रिफर गर्नुपर्ने बाध्यता छ। ग्रामीण क्षेत्रका बिरामी सडक असुविधा र यातायात अभावका कारण समयमै अस्पताल पुग्न कठिनाइ भोगिरहेका छन् ।
त्यसैगरी, तराईका जिल्लामा नेपाली सेनाले स्थानिय तहसँग मिलेर सर्पदंश उपचार केन्द्र सञ्चालन गर्दै आएको छ, जसले आकस्मिक अवस्थामा बिरामीको ज्यान जोगाउन सहयोग पुर्याएको छ ।



















फेसबुकबाट तपाईको प्रतिक्रिया