सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री वीरबहादुर थापाले निजी क्षेत्रसँगको सहकार्यमा प्रदेशमा लगानीको वातावरण बनाउन सरकार लागिरहेको बताउनुभएको छ ।
आज यहाँ आयोजित उच्च पहाडी क्षेत्रमा बृहत्तर भेडा बाख्रापालनका लागि सरोकार भएकाहरूसँगको छलफल कार्यक्रममा उहाँले कृषि तथा उद्योग क्षेत्रमा लगानीका लागि निजी क्षेत्रसँग सहकार्य र समन्वय आवश्यक रहेको बताउनुभयो ।
मन्त्री थापाले सुदूरपश्चिमका बाजुरा, बझाङ र दार्चुला जिल्लामा रहेका भेडा तथा बाख्रापालक कृषकलाई लक्षित गरी पहिलो चरणमा परीक्षणका रूपमा नयाँ कार्यक्रम सुरु गर्न लागिएको जानकारी दिनुभयो । उहाँले यहाँका भेडा बाख्रापालक कृष्कलाई कृषि विकास बैङ्कबाट ऋण लगानी गर्ने र त्यसको आठ प्रतिशत व्याज प्रदेश सरकारले तिर्ने गरी कार्यक्रम ल्याइएको बताउनुभयो ।
मन्त्री थापाले भन्नुभयो, “निजी क्षेत्रलाई नजोडि समृद्धि सम्भव छैन । त्यसैले उच्च पहाडी क्षेत्रमा निजी क्षेत्रका कृषकसँग सहकार्य गरी बृहत् भेडा तथा बाख्रापालन कार्यक्रम गर्दैछौँ । पहिलो चरणमा बाजुराका हिमाली, स्वामीकार्तिक खापर, जगन्नाथ गाउँपालिका र बुढीनन्दा नगरपालिकामा कार्यक्रम लागू गर्छौँ ।”
सुदूरपश्चिम प्रदेशसभा सदस्य नरेशकुमार शाहीले जिल्लाको भेडा, बाख्रापालनको सम्भावनालाई प्राथमिकता राख्दै कृषि क्षेत्रमा किसानलाई आत्मनिर्भर बनाउने गरी कार्यक्रम अगाडि बढाउन लागिएको बताउनुभयो ।
छलफलमा पूर्वमन्त्री श्रद्धा श्रेष्ठ, कृषि विकास बैङ्कका प्रमुख कार्यकारी अधिकृत गोविन्द्र गुरुङलगायतले धारणा राख्नुभएको थियो ।



















फेसबुकबाट तपाईको प्रतिक्रिया