२०८२ फाल्गुन ६ | Feb 18, 2026

चर्चित अभिनेता “राते काइँला” सुनील थापाको निधनले, नेपाली–भारतीय चलचित्र क्षेत्र शोकमा

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ २५
|
714 views

ललितपुर – वि.सं. २०१७ जेठ ६ गते दाङमा जन्मिएका अभिनेता सुनील थापा नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकार थिए । “राते काइँला” नामले परिचित वरिष्ठ अभिनेता सुनील थापाको निधनले समग्र कलाकारिता जगतमा अपुरणीय क्षति पुगेको छ । शनिबार बिहान अचानक स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पताल लगिएको थियो । प्रारम्भिक जाँचपछि अस्पतालले बिहान ७ बजेर ४४ मिनेटमा ६८ वर्षीय थापालाई मृत घोषणा गरेको थियो ।

नेपालीसँगै भारतीय चलचित्र क्षेत्रमा समेत स्थापित नाम बनाएका थापाको निधनको खबरले चलचित्रकर्मी स्तब्ध बनेका छन् । पछिल्लो समय उहाँ नेपाली चलचित्र ‘राम नाम सत्य’ को छायाङ्कनमा व्यस्त हुनुहुन्थ्यो । उक्त चलचित्रमा उहाँले खलपात्रको भूमिका निर्वाह गरिरहनुभएको थियो र शनिबार नै छायाङ्कनको अन्तिम दिन तय गरिएको थियो ।

चलचित्रका निर्देशक माइकल चन्दका अनुसार शुक्रबार राति १० बजेसम्म थापा छायाङ्कनमै संलग्न हुनुहुन्थ्यो । टोलीले उहाँको सबै दृश्य शुक्रबार नै सकाउने योजना बनाएको भए पनि थापाकै आग्रहमा बाँकी दृश्य शनिबार बिहानका लागि सारिएको थियो । पछिल्लो चार हप्तादेखि निरन्तर छायाङ्कनमा व्यस्त थापाको चलचित्रमा अन्तिम दृश्य शनिबार खिच्ने तयारी गरिएको थियो, जसमा अभिनेता विराज भट्टसँग दृश्य थियो ।

निर्देशक चन्दले भावुक हुँदै भन्नुभयो, “चलचित्रमा उहाँलाई जलाउने दृश्य खिच्ने तयारी थियो । केही दिनदेखि द्वन्द्वका दृश्यहरू खिचिरहेका थियौँ । शनिबार बिहान ६ बजेदेखि १० बजेसम्म छायाङ्कन गरेर उहाँ पारिवारिक कार्यक्रममा जाने योजना थियो । शुक्रबार बेलुका छुट्दा त्यो नै अन्तिम भेट भयो।

उहाँसँगै अभिनय गरिरहेका अभिनेता प्रशान्त ताम्राकारले बिहान छायाङ्कनका लागि पर्खिरहेका बेला थापाको निधनको खबर सुन्दा पत्याउनै गाह्रो भएको बताउनुभयो । पहिलो दृश्य र अन्तिम दृश्य दुवै उहाँसँगै भयो । उहाँले सधैं हामीलाई प्रोत्साहन र मार्गदर्शन दिनुहुन्थ्यो उनले भने ।

अभिनेता भुवन केसीले देशकै अब्बल कलाकार र आफ्नो घनिष्ठ मित्र गुमाएको प्रतिक्रिया दिनुभयो । चलचित्र ‘चिनो’देखि ‘सपना’ र ‘क्याप्टेन’सम्म सहकार्य भएको स्मरण गर्दै उहाँले थापाको बिदाइलाई अपुरणीय क्षति बताउनुभयो ।

अभिनेता राजेश हमालले सामाजिक सञ्जालमार्फत थापालाई अद्भूत क्षमता भएका सहकर्मीका रूपमा स्मरण गर्दै उहाँले सिर्जना गरेको रिक्तता कहिल्यै भरिन नसक्ने उल्लेख गर्नुभयो ।

निर्देशक तुलसी घिमिरेले ‘चिनो’मार्फत थापालाई नेपाली चलचित्रमा स्थापित गराएको स्मरण गर्दै पात्रलाई जीवन्त बनाउने क्षमता नै उहाँको सबैभन्दा ठूलो खुबी भएको बताउनुभयो । पछिल्लो समय ‘पहाड’ चलचित्रमा समेत उहाँसँग सहकार्य गरेको जानकारी दिँदै घिमिरेले उहाँको अभाव सधैं महसुस हुने बताए ।

नेपाल चलचित्र कलाकार सङ्घका अध्यक्ष मोहन निरौलाका अनुसार थापाको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि चाबहिलस्थित चलचित्र विकास बोर्ड परिसरमा दिउँसो १:३० बजेसम्म राखी पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

वि.सं. २०१७ जेठ ६ गते दाङमा जन्मिएका थापाले कलाकारितामा आउनुअघि मुम्बईमा मोडलिङ, फुटबल र फोटो पत्रकारिता क्षेत्रमा काम गर्नुभएको थियो । भारतीय चलचित्र ‘एक दुजे के लिये’ बाट अभिनय यात्रा सुरु गरी नेपाली चलचित्र ‘मसाल’ मार्फत नेपालमा सक्रिय हुनुभएको थियो ।

करिब ३०० भन्दा बढी नेपाली, हिन्दी र भोजपुरी चलचित्रमा अभिनय गर्नुभएका थापा विशेषगरी खलनायक पात्रलाई चर्चित र सम्मानित बनाउने कलाकारका रूपमा परिचित हुनुहुन्थ्यो । पछिल्लो समय भारतीय वेब शृङ्खला ‘द फ्यामिली म्यान’ ले पनि उहाँलाई पुनः चर्चामा ल्याएको थियो । ‘राते काइँला’ पात्रमार्फत उहाँ दर्शकमाझ अत्यन्त लोकप्रिय हुनुभयो ।

उहाँका श्रीमती, एक छोरा र एक छोरी रहेका छन्। उहाँको निधनप्रति नेपाली मात्र होइन भारतीय कलाकारहरूले पनि श्रद्धाञ्जली व्यक्त गरिरहेका छन्। प्रियङ्का चोपडा जोनस, मनोज बाज्पायीलगायतले सामाजिक सञ्जालमार्फत शोक व्यक्त गरेका छन्।

चलचित्रकर्मी तथा शुभेच्छुकहरूले नेपाली चलचित्रले एक अनुभवी कलाकार र अमूल्य सांस्कृतिक धरोहर गुमाएको बताएका छन् । वि.सं. २०१७ जेठ ६ गते दाङमा जन्मिएका अभिनेता सुनील थापा नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकार थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया