ललितपुर – सुपर खुदी हाइड्रोपावर लिमिटेडले सर्वसाधारण लगानीकर्ताका लागि आजदेखि प्राथमिक शेयर (आईपीओ) निष्कासन खुला गरेको छ । यसअघि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको शेयर बाँडफाँटपछि दोस्रो चरणमा सर्वसाधारणका लागि निष्कासन गरिएको हो ।
यस चरणमा कम्पनीले प्रतिकित्ता रु १०० अंकित मूल्यमा १२ लाख ८६ हजार ५०० कित्ता साधारण शेयर निष्कासन गरेको छ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्तासम्म आवेदन दिन सक्नेछन्। निष्कासन छिटोमा फागुन ११ गते र ढिलोमा फागुन २० गतेसम्म खुला रहनेछ ।
आईपीओका लागि गरिएको रेटिङमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘केयर–एनपी डबल बी (Issuer)’ रेटिङ प्रदान गरेको छ, जसले दायित्व बहन क्षमतामा मध्यम जोखिम संकेत गर्दछ ।
कम्पनीले सञ्चालन गरेको २६ मेगावाट क्षमताको माथिल्लो खुदी जलविद्युत आयोजनाको कुल लागत करिब रु ५ अर्ब ३८ करोड रहेको छ। प्रतिमेगावाट लागत करिब रु २० करोड ६९ लाख रहेको बताइएको छ । विद्युत उत्पादन अनुमतिपत्रको अवधि अझै २७ वर्ष ५ महिना बाँकी रहेको छ। कम्पनीका अनुसार साधारण लगानी फिर्ता अवधि ७.२१ वर्ष तथा डिस्काउण्टमा लगानी फिर्ता अवधि १३.४२ वर्ष रहेको छ ।
शेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थामार्फत सि–आस्वा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन् ।


















फेसबुकबाट तपाईको प्रतिक्रिया