फागुन ४ देखि सुपर खुदी हाइड्रोपावरको आइपिओ सर्वसाधारणका लागि खुल्ने

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ २५
|
969 views

ललितपुर - ललितपुर – सुपर खुदी हाइड्रोपावर लिमिटेडले फागुन ४ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) ल्याउने भएको छ। यसअघि आयोजना प्रभावित स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली तथा सामूहिक लगानी कोषका लागि छुट्याइएको सेयर बाँडफाँट सम्पन्न भएपछि कम्पनी सर्वसाधारणतर्फ जाने तयारीमा पुगेको हो ।

कम्पनीको कुल जारी पुँजी १ अर्ब ५५ करोड रुपैयाँमध्ये २० प्रतिशत अर्थात ३१ करोड रुपैयाँ बराबरको ३१ लाख कित्ता सेयर आइपिओमार्फत निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त भएको छ । अनुमति पाएको सेयरमध्ये स्थानीय बासिन्दाका लागि १५ लाख ५० हजार कित्ता, वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १ लाख ५५ हजार कित्ता तथा सामूहिक लगानी कोषका लागि ७७ हजार ५०० कित्ता सेयर निष्कासन गरी बाँडफाँट भइसकेको कम्पनीले जनाएको छ ।

दोस्रो चरणअन्तर्गत कर्मचारीहरूका लागि ३१ हजार कित्ता सेयर सुरक्षित गरिएको छ । त्यसपछि बाँकी रहेको १२ करोड ८६ लाख ५० हजार रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका १२ लाख ८६ हजार ५०० कित्ता सेयर सर्वसाधारण लगानीकर्ताका लागि खुला गर्न लागिएको हो ।

आइपिओमा न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। आवेदन दिने अन्तिम म्याद फागुन १० गतेसम्म तोकिएको छ । यदि सो अवधिभित्र सबै सेयरमा आवेदन नपरेमा बिक्री अवधि फागुन १९ गतेसम्म लम्बिने कम्पनीले जानकारी दिएको छ ।

कम्पनीलाई केयर रेटिङ नेपालले CARE-NP BB (Issuer Rating) प्रदान गरेको छ, जसले कम्पनीको दायित्व वहन क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ । आइपिओ निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी ग्लोबल आइएमई क्यापिटल लिमिटेडले सम्हालेको छ । इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत बैंक तथा वित्तीय संस्थामार्फत सी–आस्वा (C-ASBA) प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन् ।

 पात्रो/राशिफल  रेडियो YouTube