ललितपुर - ललितपुर । भरतपुर महानगरपालिका–१५ फूलबारीस्थित श्रीपुरमा प्राङ्गारिक किसान चन्द्रप्रसाद अधिकारीले लगाउनुभएको सूर्यमुखी बगानमा अहिले फूल ढकमक्क फुलेसँगै अवलोकन गर्ने मानिसको भीड देखिन थालेको छ । करिब साढे दुई बिघा क्षेत्रफलमा फुलेका सूर्यमुखी फूल हेर्न आउनेको जमात दिनदिनै बढ्दै गएको छ ।
यहाँ कोही टिकटक बनाउँदै, कोही अध्ययन–अवलोकन गर्दै, कोही फोटो खिच्दै रमाइरहेका देखिन्छन् । फूलमा मौरीले रस सङ्कलन गर्दै बगानभरि घुमिरहेको दृश्य र बाली जोगाउन राखिएका ‘डमी’ले यस क्षेत्रलाई थप आकर्षक बनाएको छ । बगानको बीच भागमा निर्माण गरिएका मचानमा बसेर चारैतिर फैलिएको सूर्यमुखी बारी अवलोकन गर्दा रमाइलो अनुभव मिल्ने बताइएको छ ।
भरतपुर–३ बाट आएका पवन अधिकारी र उल्झना अधिकारीले यहाँको वातावरण निकै रमाइलो लागेको बताउनुभयो र अन्यलाई पनि यहाँ आएर फूलको सौन्दर्य अवलोकन गर्न आग्रह गर्नुभयो ।
समूहमा घुम्न आएका गीता खड्का, आस्मा गुरुङ, जेनी चौधरी, सानु चौधरी र साना चौधरीले पनि बगान निकै आकर्षक रहेको बताउनुभयो । नारायणगढबाट आएका आगन्तुकहरू अघिल्लो वर्ष आउन नपाएको तर यस वर्ष फूल फुलेको समयमा आएको बताए ।
एग्रो–इको टुरिजम प्रवर्द्धन गर्ने उद्देश्यले तयार गरिएको बगानले यस क्षेत्रलाई चहलपहल र युवालाई कृषि क्षेत्रमा प्रेरणा दिएको छ । हाल यहाँ दैनिक चारदेखि पाँच सयसम्म मानिस विभिन्न स्थानबाट अवलोकन गर्न आउँछन् ।
किसान अधिकारीले कुनै रासायनिक मल वा विषादी प्रयोग नगरी ३६ वर्षदेखि प्राङ्गारिक खेती गर्दै आएका छन् । यहाँ सुर्यमुखीसँगै गाजर, चुकन्दरलगायतका खेती पनि भइरहेको छ ।
गत वर्ष यहाँ गाजर र चुकन्दरखेती, अघिल्लो वर्ष सूर्यमुखी लगाइएको थियो र अघिल्लो वर्ष आगन्तुकबाट राम्रो प्रतिक्रिया पाएपछि यस वर्ष पनि सूर्यमुखी खेती गरिएको छ । सूर्यमुखीको तेल प्रतिलिटर रु ८०० मा बिक्री हुने बताइएको छ ।
मङ्सिरको सुरुमा रोपिएको सूर्यमुखी चैतमा उत्पादन दिन्छ, र यही समयमा फूल फुल्ने भएकाले मानिसहरू अवलोकन गर्न आउने गर्छन् । फूल फुल्ने समयमा कृषि पर्यटनसँग जोडिएको छ ।
नेपालको भौगोलिक विविधताले फरकफरक स्थानमा फरक कृषि प्रणाली अपनाउन सकिने सम्भावना रहेको बताउँदै, अधिकारीले हरेक भूगोलअनुसार उत्पादन गरेर देशलाई आवश्यक वस्तु उपलब्ध गराउन सकिने उल्लेख गर्नुभयो । कृषि विज्ञको परामर्श र नीतिनिर्माताको सहयोग आवश्यक रहेको पनि उहाँको भनाइ छ ।

बिजनेस पाटी