ललितपुर – स्वास्थ्य बीमा कार्यक्रमका कारण राज्यलाई ठूलो आर्थिक भार परेको स्वास्थ्य तथा जनसंख्यामन्त्रीले बताएकी छन् । स्रोत सुनिश्चित नगरी खर्च बढ्दै जाँदा बीमामा गम्भीर दायित्व सिर्जना भएको उनको भनाइ छ ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको १८औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै मन्त्री गौतमले चालु आर्थिक वर्षका लागि स्वास्थ्य बीमामा छुट्याइएको १० अर्ब रुपैयाँ खर्च भइसकेको जानकारी दिइन् । तर बीमा बोर्डले स्रोतको व्यवस्था नगरी सेवा विस्तार गर्दा वार्षिक करिब २४ अर्ब रुपैयाँ बराबरको दायित्व सिर्जना भएको भन्दै उनले असन्तुष्टि व्यक्त गरिन् ।
सरकारले नागरिकबाट उठेको करबाट मात्रै सेवा भुक्तानी गर्ने भन्दै मन्त्री गौतमले बजेटको सीमाभित्र रहेर कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिइन् । आवश्यक परे अर्थ मन्त्रालयसँग सहमति लिएर मात्र खर्च गर्न सकिने उनको भनाइ छ ।
उनले स्रोत नहेरी जथाभावी सेवा विस्तार गर्दा प्रणालीमै समस्या देखिएको उल्लेख गरिन् । ‘सरकार भनेको हामी आफैँ हौँ, रुखबाट पैसा झर्दैन,’ भन्दै उनले मितव्ययिता र स्रोतको सही प्रयोगमा ध्यान दिन आग्रह गरिन् ।
मन्त्री गौतमले संविधानले निःशुल्क स्वास्थ्य सेवालाई मौलिक अधिकार मानेको उल्लेख गर्दै यसको कार्यान्वयनको मुख्य जिम्मेवारी स्थानीय तहको भएको बताइन् । स्वास्थ्य सेवाको दिगो व्यवस्थापनका लागि वित्तीय अनुशासन र जिम्मेवारीपूर्ण कार्यशैली आवश्यक रहेको उनको धारणा छ ।



















फेसबुकबाट तपाईको प्रतिक्रिया