परम्परा जोगाउने अडान: पुरुष–उत्तराधिकारमै ताकाइची

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन १५
|
612 views

ललितपुर - ललितपुर – जापानमा शाही उत्तराधिकारको भविष्यबारे बहस तीव्र बन्दै गइरहेका बेला प्रधानमन्त्री साने ताकाइचीले पुरुष मात्रै सिंहासनमा बस्ने परम्परा परिवर्तन नगर्न स्पष्ट अडान लिनुभएको छ । संसद्मा शुक्रबार बोल्दै उहाँले पुरुष–वंशका पुरुष सन्तानलाई मात्र योग्य ठहर गर्ने हालको व्यवस्था सम्मान गर्ने बताउनुभयो ।

हालको कानूनअनुसार शाही परिवारको पुरुष पक्षका पुरुष सन्तान मात्र प्राचीन क्रिसान्थेमम सिंहासनमा आरोहण गर्न सक्छन् । ६६ वर्षीय सम्राट नारुहितोकी एउटी मात्र छोरी राजकुमारी आइको हुनुहुन्छ । त्यसैले शाही वंश निरन्तरताको आशा अधिराजकुमार अकिशिनोका किशोर छोरा राजकुमार हिसाहितोतर्फ केन्द्रित छ।

प्रधानमन्त्री ताकाइचीले सन् २०२१ मा विज्ञहरूको प्यानलले प्रस्तुत गरेको प्रतिवेदन सम्मान गर्दै शाही वंशका पुरुष–वंशका पुरुष वंशजहरूमा योग्यता सीमित गर्नु उपयुक्त हुने निष्कर्षलाई सरकारले सम्मान गर्ने बताउनुभयो । देशको पहिलो महिला प्रधानमन्त्री का रूपमा उहाँले सरकार र आफूले प्रतिवेदन सम्मान गर्ने बताउनुभयो ।

यसअघि उहाँले शाही उत्तराधिकारसम्बन्धी नियम संशोधन जरुरी रहेको सङ्केत गर्नुभएको थियो, तर सम्भावित समाधानका रूपमा टाढाका पुरुष आफन्तलाई पुनः शाही परिवारमा ‘गोद लिएर’ ल्याउने विकल्प विचार गर्न सकिने बताउनुभएको थियो ।

परम्पराअनुसार करिब २ हजार ६०० वर्ष पुरानो जापानको राजवंश पुरुष सन्तानमार्फत मात्रै अघि बढ्नुपर्ने विश्वास छ। यद्यपि जनमत सर्वेक्षणहरूमा महिलालाई पनि सिंहासनको अधिकार दिनुपर्ने पक्षमा समर्थन देखिएको छ ।

जापानमा शाही उत्तराधिकारबारे दशकौँदेखि बहस चलिरहेको छ । सन् २००५ को सरकारी प्यानलले जेठो सन्तानलाई उत्तराधिकारी बनाउने सिफारिस गरेको थियो, तर सन् २००६ मा राजकुमार हिसाहितो जन्मिएपछि बहस शिथिल बनेको थियो ।

सन् २०२१ को विशेषज्ञ प्यानलले टाढाका पुरुष आफन्तलाई पुनः समावेश गर्ने विषय विचार गर्न सुझाव दिएको थियो। तर त्यस्ता व्यक्तिहरू व्यक्तिगत जीवन र करियर त्यागेर शाही दायित्व स्वीकार गर्न तयार हुने–नहुने स्पष्ट छैन। प्यानलले विवाहपछि परिवार छोड्न बाध्य हुने शाही छोरीहरूलाई सार्वजनिक कर्तव्य निरन्तरता दिन अनुमति दिन सकिने सुझावसमेत दिएको थियो।

परम्परावादीहरूका अनुसार पुरुष सन्तानबाट नटुट्ने शाही वंशपरम्परा जापानको राष्ट्रिय पहिचान हो । उनीहरूका अनुसार ठूला परिवर्तनले समाजमा विभाजन ल्याउन सक्छ । संविधानअनुसार शाही परिवारसँग राजनीतिक अधिकार छैन, तर साङ्केतिक भूमिकामा उनीहरूको महत्त्व कायम छ ।

ऐतिहासिक रूपमा शाही परिवारमा विवाह गर्ने महिलाहरूले छोरा जन्माउने सामाजिक दबाब सामना गर्नुपरेको छ। सम्राट नारुहितोकी पत्नी महारानी मासाको ले दरबार प्रवेशपछि वर्षौँसम्म स्वास्थ्य समस्या भोग्नुभयो । सम्राटकी आमा महारानी एमेरिटा मिचिको पनि यस्तै समस्याबाट प्रभावित हुनुभयो ।

राजकुमार हिसाहितोकी दिदी माको ले विवाहपछि मिडिया निगरानीको सामना गर्नुपरेको थियो र पछि संयुक्त राज्य अमेरिका सरेकी छन् ।

 पात्रो/राशिफल  रेडियो YouTube