आज खखडेहरा पर्व मनाउँदै राना थारू समुदाय

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन २६
|
714 views

ललितपुर - ललितपुर – सुदूरपश्चिमका कैलाली र कञ्चनपुर जिल्लामा बसोबास गर्ने राना थारू समुदायले आज परम्परागत ‘खखडेहरा पर्व’ मनाउँदै यस वर्षको होलीलाई औपचारिक रूपमा बिदाइ गर्दैछन् । करिब एक महिनाभन्दा बढी समयसम्म निरन्तर रूपमा मनाइने राना थारू समुदायको होली खखडेहरा पर्वसँगै समाप्त हुने परम्परा छ ।

राना थारू समुदायमा होली केवल रङ खेल्ने पर्व मात्र नभई सामाजिक, धार्मिक र सांस्कृतिक जीवनसँग गहिरो रूपमा जोडिएको उत्सव हो । समुदायका लागि सामूहिक एकता, सांस्कृतिक निरन्तरता र धार्मिक आस्थाको प्रतीक मानिन्छ ।

माघ शुक्ल पूर्णिमाका दिनदेखि होली पर्वको सुरुआत हुन्छ । सो दिन गाउँमा ‘होरी’ राखेर पर्व प्रारम्भ गरिन्छ । त्यसपछि करिब एक महिनासम्म रातको समयमा मात्र होली खेल्ने चलन (‘जिउँदो होली’) छ ।

जिउँदो होलीका दिनहरूमा गाउँका महिला तथा पुरुष रातभरि भेला भएर पारम्परिक होली गीत गाउने, नाचगान गर्ने र धार्मिक कथाहरूलाई गीतमा प्रस्तुत गर्ने चलन छ ।

फागुन पूर्णिमाका दिन गाउँको दक्षिणपूर्व दिशामा स्थापना गरिएको होलिकालाई विधिपूर्वक दहन गरिन्छ । होलीको खरानीको टीका लगाउँदा रोगव्याधि नलाग्ने, स्वास्थ्य राम्रो हुने तथा दीर्घायु प्राप्त हुने विश्वास रहेको छ ।

टीकाको दिनदेखि आठ दिनसम्म ‘मरी होरी’ अर्थात् ‘मरेको होली’ खेल्ने चलन छ । मरेको होलीको आठौँ दिनमा खखडेहरा पर्व मनाइन्छ, जसलाई होलीको औपचारिक समापन मानिन्छ ।

खखडेहरा पर्वका दिन गाउँमा विशेष तयारी सुरु हुन्छ । गाउँका अगुवा, भलमन्सा, चाकर तथा जिम्मेवार व्यक्तिहरूले घरघरमा पुगेर पूजा सामग्री सङ्कलन गर्ने गर्छन् ।

सङ्कलित सामग्रीलाई सामूहिक रूपमा ‘सत्ना’ भनिन्छ । “गाउँका सबै घरबाट सामग्री सङ्कलन गरिन्छ, जसले पर्व सामूहिक सहभागितामा आधारित रहेको देखाउँछ”, रतनलाल रानाले बताउनुभयो ।

सङ्कलित सामग्रीलाई गाउँको चौबाटो वा निश्चित स्थानमा लगेर परम्परागत विधिअनुसार पूजा गरिन्छ । पूजा सम्पन्न भएपछि माटोका भाँडाकुँडा, खप्टा, घोडाको मूर्ति, दियो, हडिया फुटाउने चलन छ । यो कार्य प्रतीकात्मक रूपमा गाउँबाट नकारात्मक शक्ति हटाउने संस्कार मानिन्छ ।

खखडेहरा पर्वमार्फत राक्षसी प्रवृत्ति, रोगव्याधि, दुर्भाग्य र अन्य नकारात्मक प्रभाव गाउँबाट टाढा भगाउने विश्वास रहेको छ ।

फगुवा माग्ने परम्परा पनि पर्वको महत्त्वपूर्ण पक्ष हो । पूजा सम्पन्न भएपछि गाउँका युवा तथा अगुवाहरू घरघरमा पुगेर फगुवा माग्ने गर्छन् ।

साँझपख गाउँमा उत्सवमय वातावरण, पारम्परिक पहिरन, गीत–नृत्य र सांस्कृतिक कार्यक्रम देखिन्छ । विश्वासअनुसार पूजा तथा अनुष्ठानले अन्नबाली राम्रो हुने, रोगव्याधि हट्ने र गाउँमा समृद्धि आउने बताइएको छ ।

खखडेहरा पर्वले राना थारू समुदायको सांस्कृतिक जीवन, एकता, संस्कार र परम्परा बलियो बनाउने काम गर्छ

खखडेहरा पर्वका दिन गाउँमा खेतीपाती, गोरुगाडा चलाउनेलगायतका काम रोक्ने चलन छ । समुदायले सामाजिक एकता कायम राख्न यस्ता सांस्कृतिक परम्परा विकास गरेको छ ।

गर्मी मौसम सुरु हुने समयमा रोगव्याधि फैलिन नदिने र भूतप्रेत, दुर्भाग्य हटाउने प्रतीकात्मक विश्वास समुदायमा रहिआएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारले खखडेहरा पर्वको अवसरमा सार्वजनिक बिदा दिएको छ ।

 पात्रो/राशिफल  रेडियो YouTube