ललितपुर - नेपालगन्ज विमानस्थलमा यात्रुहरूको सहजताका लागि आजदेखि निःशुल्क ट्रलीबस सेवा सञ्चालनमा ल्याइएको छ। नागरिक उड्डयन प्राधिकरणले उक्त सेवा सुरु गरेको हो ।
विमानस्थलदेखि राँझा चोकसम्म करिब दुई किलोमिटर दूरीमा यात्रुहरूको आवतजावत सहज बनाउन यो सेवा सञ्चालन गरिएको विमानस्थल कार्यालयले जनाएको छ ।
यो सेवा विशेषगरी वृद्धवृद्धा, बालबालिका, अपाङ्गता भएका व्यक्ति तथा धेरै सामान बोकेर यात्रा गर्ने यात्रुलाई लक्षित गरिएको छ ।
सेवा प्रयोग गरेकी यात्री सरिता शर्माले निःशुल्क ट्रलीबस सेवाले ठूलो राहत दिएको बताइन् । उनले अटोको चर्को भाडा र गर्मीमा हुने झन्झटबाट छुटकारा पाएको अनुभव सुनाइन् ।
विमानस्थल प्रमुख सन्तोषकुमार पोखरेलका अनुसार करिब २५ सिट क्षमताको यो बस अपाङ्गमैत्री पनि छ। शारीरिक रूपमा असहजता भएका यात्रुहरूलाई सहज पहुँच दिलाउने उद्देश्यले सेवा सञ्चालन गरिएको उनले बताए ।
नागरिक उड्डयन प्राधिकरणका अनुसार विमानस्थल सेवाहरूलाई थप व्यवस्थित, आधुनिक र यात्रुमैत्री बनाउने काम निरन्तर भइरहेको छ ।

बिजनेस पाटी
















