२०८२ फाल्गुन ३ | Feb 15, 2026

समलिङ्गी र तेस्रोलिङ्गी छ जनाले प्रत्यक्ष निर्वाचनमा उम्मेदवारी दर्ता

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ ६
|
1.1k views

ललितपुर । समलिङ्गी विवाह दर्ता गरी दक्षिण एसियाकै पहिलो जोडी बनेका समलिङ्गी सुरेन्द्र पाण्डेले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराउनुभएको छ ।

समावेशी समाजवादी पार्टीमा आबद्ध पाण्डेले आज काठमाडौँ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत बानेश्वरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराउनुभएको हो। उहाँले विवाह दर्ताको प्रमाणपत्र पेस गरेपछि उम्मेदवारी दर्ता शुल्कमा ५० प्रतिशत छुटसमेत पाएको जानकारी दिनुभयो ।

दुई वर्षअघि कावासोती नगरपालिका–८, नवलपरासी पूर्वका सुरेन्द्र पाण्डे र दोर्दी गाउँपालिका–२, लमजुङका रामबहादुर गुरुङ (माया) ले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायबाट कानुनी रूपमा विवाह दर्ता गरी दक्षिण एसियाकै पहिलो जोडीको रूपमा इतिहास रचेका थिए ।

समलिङ्गी तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको अधिकारका लागि लामो समयदेखि अभियान चलाउँदै आउनुभएका पाण्डेले सामाजिक रूपान्तरणका लागि राजनीतिमा होमिनु आवश्यक रहेको बताउनुभयो। “चुनौतीले भरिएको समाजमा उम्मेदवारी दिनु नै आफैँमा जित हो । अब जनताको मन जित्दै फरक काम गरेर देखाउने लक्ष्य छ,” उहाँले भन्नुभयो ।

समावेशी समाजवादी पार्टीबाट यस निर्वाचनमा देशभर समलिङ्गी र तेस्रोलिङ्गी गरी छ जनाले प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गराएका छन्। जसअनुसार सुरेन्द्र पाण्डे काठमाडौँ–१, देवेन्द्रबहादुर खत्री (मधु) रूपन्देही–२, नुमा लिम्बू (तेस्रो लिङ्गी) मोरङ–४, पिङ्की राई ओखलढुङ्गा–१ र विनोद लामा (कोनिका) काभ्रे–१ बाट उम्मेदवार रहेका छन् ।

यसअघि विसं २०६४ को पहिलो संविधानसभा निर्वाचनमा नेकपा (संयुक्त) बाट सुनीलबाबु पन्त समानुपातिकतर्फ सांसद बनेपछि प्रतिनिधिसभामा समलिङ्गी समुदायको प्रतिनिधित्व शून्यजस्तै रहँदै आएको छ।

पाण्डेले संसद्मा पुगेर आफ्नो समुदाय मात्र नभई समग्र समाज र जनताको हितका लागि काम गर्ने योजना रहेको बताउनुभयो । “हाम्रो आवाज संसद्मा कसैले उठाएनन्, अब आफैँ पुग्नुबाहेक विकल्प छैन भनेर उम्मेदवारी दिएको हुँ,” उहाँले भन्नुभयो ।

पार्टीका अध्यक्ष नुमा लिम्बूका अनुसार राजनीतिक दलहरूले समलिङ्गी तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई आश्वासन दिने र प्रयोग गर्ने प्रवृत्ति रहेकाले यसपटक आफ्नै पार्टी बनाएर निर्वाचनमा होमिनु परेको हो। मोरङ–४ बाट उम्मेदवारी दर्ता गराइसक्नुभएका लिम्बूले राजनीतिको माध्यमबाट दबिएका आवाज बुलन्द गर्ने धारणा राख्नुभयो ।

उहाँका अनुसार प्रत्यक्षतर्फ छ जना समलिङ्गी तथा तेस्रोलिङ्गी उम्मेदवार रहेका छन् भने पार्टीको समानुपातिक सूचीमा महिला र पुरुषसहित १५ जनाको नाम समावेश गरिएको छ। “हामी सधैँ अरू पार्टीको आशमा बस्यौँ, अब आफैँ संसद्मा आफ्नो आवाज पुर्‍याउँछौँ,” लिम्बूले रासससँगको टेलिफोनवार्तामा बताउनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया