
ललितपुर - महालेखापरीक्षक कार्यालयले त्रिभुवन विश्वविद्यालयसहित विभिन्न विश्वविद्यालयका अतिक्रमित जग्गा फिर्ता गरी संरक्षण तथा आयमूलक कार्यमा उपयोग गर्न सुझाव दिएको छ।
महालेखाको ६३औँ वार्षिक प्रतिवेदन, २०८३ अनुसार त्रिभुवन विश्वविद्यालय र अन्तर्गत निकायको एक करोड ४७ लाख ८४ हजार वर्गमिटर जग्गा अतिक्रमणमा परेको उल्लेख छ ।
त्यसमध्ये एक करोड ३१ लाख २२ हजार वर्गमिटर पूर्ण स्वामित्वको, ९ लाख ९९ हजार वर्गमिटर भोगाधिकारको तथा अन्य ६ लाख ५३ हजार वर्गमिटर जग्गा अतिक्रमित भएको प्रतिवेदनमा जनाइएको छ ।
यस्तै, सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत टीकापुर बहुमुखी क्याम्पसको ३८० बिघामध्ये ३०० बिघा जग्गा अतिक्रमणमा परेको देखिएको छ ।
त्यसैगरी, पोखरा विश्वविद्यालयको भोगाधिकारमा रहेको १ हजार ३७२ रोपनीभन्दा बढी जग्गामध्ये ६५२ रोपनीभन्दा बढी अतिक्रमित भएको महालेखाले जनाएको छ ।
प्रतिवेदनमा विश्वविद्यालयहरूले सम्पत्तिको केन्द्रीय अभिलेख राखी सम्बन्धित निकायसँग समन्वय गरेर अतिक्रमित जग्गा फिर्ता गर्नुपर्ने उल्लेख गरिएको छ। साथै ती सम्पत्तिलाई संरक्षण गर्दै आयआर्जनमूलक कार्यमा उपयोग गर्नुपर्ने सुझाव दिइएको छ ।
त्रिभुवन विश्वविद्यालयको जग्गा तथा अचल सम्पत्ति खोजबिन समितिले पनि २०८१ मा तयार गरेको प्रतिवेदनमा जग्गा दुरुपयोगबारे अख्तियार र सीआईबीमा पठाउन सुझाव दिएको थियो । सो प्रतिवेदन २०८२ पुस २ गते नेपाल सरकारलाई बुझाइएको थियो ।

बिजनेस पाटी












