
ललितपुर - संयुक्त अरब इमिरेट्सका राष्ट्रपति शेख मोहम्मद बिन जायेद अल नाहयान र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो अवस्थाबारे टेलिफोन संवाद भएको छ । दुवै नेताले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय शान्ति र सुरक्षामा पर्न सक्ने प्रभावबारे गम्भीर छलफल गर्नुभएको बताइएको छ ।
संयुक्त अरब इमिरेट्सको सरकारी समाचार संस्थाका अनुसार दुई नेताले विशेषगरी मध्यपूर्वको परिस्थितिले समुद्री मार्गको स्वतन्त्रता, ऊर्जा सुरक्षा तथा विश्व अर्थतन्त्रमा पार्न सक्ने असरबारे विचार आदानप्रदान गर्नुभएको थियो ।
वार्ताका क्रममा दुवै देशबीचको द्विपक्षीय सहयोग तथा रणनीतिक साझेदारीलाई अझ सुदृढ बनाउने विषयमा पनि छलफल भएको जनाइएको छ । दुवै नेताले आपसी सहकार्यलाई आगामी दिनमा थप विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको समाचारमा उल्लेख छ ।
यसैबीच, राष्ट्रपति पुटिनले रुस र युक्रेनबीच कैदी आदानप्रदान गराउन संयुक्त अरब इमिरेट्सले गर्दै आएको मध्यस्थता प्रयासको प्रशंसा गर्नुभएको छ । उहाँले उक्त पहललाई मानवीय दृष्टिकोणबाट अत्यन्त महत्वपूर्ण रहेको बताउनुभएको समाचार संस्थाले जनाएको छ ।

बिजनेस पाटी




