ललितपुर - ललितपुर – नेपालको सार्वजनिक नीति र अर्थतन्त्रका बहसमा लामो समयदेखि परिचित नाम हो, डा स्वर्णिम वाग्ले । अर्थशास्त्री, नीतिगत विज्ञ र योजनाविद्का रूपमा पहिचान बनाउनुभएका डा वाग्ले पछिल्ला वर्षमा सक्रिय राजनीतिमा प्रवेश गर्दै अहिले तनहुँ क्षेत्र नं १ बाट दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको छ ।
डा वाग्ले ३८ हजार ४० मतसहित विजयी हुनुभएको छ । गत उपनिर्वाचनमा उहाँ यही क्षेत्रबाट ३४ हजार ९११ मतसहित विजयी हुनुभएको थियो ।
गोरखा जिल्लामा जन्मिनुभएका वाग्ले सामान्य परिवेशमा हुर्किनुभएको हो । बाल्यकालदेखि नै अध्ययनमा रुचि राख्ने उहाँ उच्च शिक्षाका लागि विदेश पुग्नुभयो । अर्थशास्त्रमा गहिरो अध्ययन गर्दै उहाँले ‘पिएचडी’ पूरा गर्नुभयो ।
अध्ययनका क्रममा उहाँले विकास अर्थशास्त्र, सार्वजनिक नीति र आर्थिक सुधारका विषयमा विशेष अनुसन्धान गर्नुभएको थियो । यही अध्ययनले उहाँलाई अन्तरराष्ट्रियस्तरका नीति बहसमा सहभागी गरायो ।
उच्च शिक्षापछि डा वाग्लेले विभिन्न अन्तरराष्ट्रिय संस्थामा काम गर्नुुभयो । विशेषगरी संयुक्त राष्ट्रसङ्घसँग आबद्ध कार्यक्रममा उहाँले विकास, गरिबी न्यूनीकरण र आर्थिक नीतिका विषयमा काम गर्नुभयो ।

बिजनेस पाटी