आर्थिक संस्था केही व्यक्तिको कब्जामा पुगेका थिए, अब मुक्त गरिन्छ : अर्थमन्त्री वाग्ले

BusinessPati बिजनेस पाटी
|
२०८३ बैशाख २९
|
204 views

ललितपुर - डा. स्वर्णिम वाग्ले ले नेपालका प्रमुख आर्थिक संस्थाहरू केही सीमित व्यक्तिको नियन्त्रणमा पुगेको दाबी गर्दै अब त्यस्तो अवस्थाको अन्त्य गरिने बताएका छन् ।

मंगलबार अर्थ समितिको बैठकमा बोल्दै उनले विगत केही वर्षमा आर्थिक संस्था र पुँजी बजार सीमित व्यक्तिको प्रभावमा परेको टिप्पणी गरे ।

    ‘१५–१६ अर्ब रुपैयाँ जनताको पैसा अपचलन गरेर, मार्केट म्यानुपुलेसन र इन्साइडर ट्रेडिङमार्फत अकूत सम्पत्ति जम्मा गरेर केही व्यक्तिले आर्थिक संस्थामाथि कब्जा जमाएका थिए,’ अर्थमन्त्री वाग्लेले भने, ‘राजनीतिलाई समेत प्रभावित पारेर केही प्रभावशाली नेताहरूलाई आफ्नो नियन्त्रणमा राख्ने प्रवृत्ति देखिएको थियो ।’

    उनले विगतमा सीमित समूहले राज्यका संयन्त्र र आर्थिक संस्थालाई निजी स्वार्थअनुसार सञ्चालन गरेको आरोप लगाउँदै जेनजी आन्दोलन नभएको भए मुलुक अझ गम्भीर संकटमा फस्ने दाबी गरे ।

      ‘त्यो हस्तक्षेप नभएको भए हामी ठूलो भड्खालोमा जाकिने थियौँ । अहिले मुलुक नयाँ कोर्समा गएको छ । सुशासनलाई सबैभन्दा ठूलो प्राथमिकतामा राखेका छौँ,’ उनले भने ।

      अर्थमन्त्री वाग्लेले पुँजी बजार सुधारका लागि सरकारले विभिन्न कदम चालिरहेको जानकारी दिँदै नेपाल स्टक एक्सचेन्ज (नेप्से) को पुनर्संरचना गरिने बताए ।

      उनका अनुसार अध्ययन समितिले दिएको प्रतिवेदन कार्यान्वयन गर्दै पुँजी बजारलाई थप पारदर्शी र प्रतिस्पर्धी बनाइनेछ ।

      ‘अब पुँजी बजारमा हुने इन्साइडर ट्रेडिङ र सीमित व्यक्तिको कब्जा अन्त्य गरेर बजारलाई पारदर्शी बनाइन्छ,’ उनले बताए ।

       पात्रो/राशिफल  रेडियो YouTube