
ललितपुर - ललितपुर महानगरपालिका वडा २९ ले वडावासीहरूलाई स्वास्थ्य सेवा प्रदान गर्ने क्रममा गत वैशाखमा सुरु गरेको एक महिने आँखा उपचार शिविर शुक्रवार सफलता पूर्वक सम्पन्न गरेको छ । त्यहाँ स्थित जल : आँखा तथा कान उपचार केन्द्रमा गत वैशाखमा तिन दिने निःशुल्क आँखा उपचार शिविर सञ्चालन गरिएको थियो उक्त शिविरमा ८ सय पैँतालिस जनाको आँखा परीक्षण गरिएको थियो ।
शिविरमा आएका वडावासीहरू मध्य परीक्षणबाट मोतीबिन्दुको शल्यक्रिया गर्नु पर्ने पहिचान भएकाहरूलाई वडामै सुपथ मूल्यमा शल्यक्रिया सेवा दिई एक महिना सम्म नियमित सेवा दिइएको वडाध्यक्ष गणेश कुमार महर्जनले जानकारी दिएका छन् ।
उपचार केन्द्रका इन्चार्ज डाक्टर चन्द्र नारायण चौधरीका अनुसार यो अवधिमा १ सय १३ जनाको आँखाको शल्यक्रिया गरिएको थियो । त्यस मध्य ९५ जनाको आँखामा मोतीबिन्दुको समस्या थियो । भने अन्यको आँखामा मासु पलाएको लगायतका समस्या थिए ।
नेपाल नेत्र ज्योति सङ्घको समन्वयमा सगरमाथा चौधरी आँखा अस्पताल लहानको प्राविधिक सहयोगमा ललितपुर महानगरपालिका वडा २९ हरिसिद्धिमा खोलिएको केन्द्रमा आएका वडावासीहरूले वडामै आँखाको उपचार पाएकोमा प्रसन्नता व्यक्त ग।रेका छन् ।
वडा अध्यक्ष महर्जनले वडावासीले आँखा, कानको उपचार सेवा लिन टाढा जानु पर्ने अवस्थाको अन्त्य भएको भन्दै भविष्यमा वडावासीका लागि अन्य स्वास्थ्य सेवा पनि बिस्तार गर्ने योजना रहेको बिजनेसपाटीलाई बताएका छन् ।

बिजनेस पाटी