जिउँदो व्यक्तिको मृत्युदर्ता प्रकरणमा वडाध्यक्षसहित चार जना पक्राउ

BusinessPati बिजनेस पाटी
|
२०८३ बैशाख १५
|
153 views

ललितपुर - पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ मा जिउँदो व्यक्तिलाई मृत घोषणा गरी मृत्युदर्ता गराइएको गम्भीर घटनामा वडाध्यक्षसहित चार जना पक्राउ परेका छन् । जिल्ला अदालत नवलपरासीबाट पक्राउ पुर्जी जारी भएपछि बुधबार उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा वडाध्यक्ष प्रभुनाथ अहिर, वडा सचिव सञ्जयकुमार चौधरी, मुख्य आरोपी ३१ वर्षीय तारिख मियाँ अन्सारी र मृत्युदर्ता मुचुल्कामा साक्षी बसेका छोटे खाँ रहेका छन् । प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्यलाई तीव्र बनाएको जनाएको छ ।

अनुसन्धानका क्रममा अन्सारीले आफ्नै बुवा भएको दाबी गर्दै सोही वडाका ६६ वर्षीय छिमेकीको नाममा मृत्युदर्ता गराएको खुल्न आएको छ । तर ती व्यक्ति जीवितै रहेको पुष्टि भएको छ। अन्सारीका वास्तविक बुवाको भने २०६० सालमै मृत्यु भइसकेको प्रहरीले जनाएको छ ।

घटनामा वडाध्यक्ष र वडा सचिवको समेत मिलेमतो देखिएपछि उनीहरूलाई पक्राउ गरिएको हो । मृत्युदर्ता गरिएका व्यक्तिका छोराले गत वर्ष चैतमा प्रहरीमा उजुरी दिएपछि यो घटना बाहिर आएको थियो ।

प्रहरीका अनुसार राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन, २०७६ अन्तर्गत झुट्टा विवरण पेश गरी मृत्युदर्ता प्रमाणपत्र बनाउने कसुरमा उनीहरूमाथि अनुसन्धान भइरहेको छ। अदालतबाट म्याद थप गरी थप अनुसन्धान अघि बढाइने जनाइएको छ ।

 पात्रो/राशिफल  रेडियो YouTube